शनिबार, २८ मार्च २०२६

कांग्रेसको निष्कर्षः उत्तेजना र आवेगमा गरिएको निर्णयले देश पुनः द्वन्द्वमा जान सक्छ

News Image
• • •

नेपाली कांग्रेसको पदाधिकारी बैठकले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको निष्कर्ष निकालेको छ।

शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनले प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक नभएको र सरकारले विधिसम्मत ढंगले सार्वजनिक नगरेको आरोप लगाए।

उनले भने, ‘प्रतिवेदनमा भदौ २४ गतेका घटनाबारे पूर्ण छानबिन गर्न नभ्याएको उल्लेख छ भने त्यो एकपक्षीय र अपूर्ण देखिन्छ।’

चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगका सिफारिसमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै एउटै प्रतिवेदनको सिफारिसमा सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेसको ठहर छ।

प्रवक्ता चालिसेले भने, ‘भदौ २३ गतेको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिसमा पनि सरकारको व्यवहार फरक देखिन्छ, जुन गलत हो। भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ।’

उनले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टीको समर्थन रहने स्पष्ट पारे। तर उनले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘भदौ २३ गतेको घटनाका सम्बन्धमा संग्लग्न सबै र सँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारवाही हुनुपर्छ त्यसमा हाम्रो साथ रहन्छ। तर त्यो कारवाही उत्तेजना र आवेगमा होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ यसमा सरकार परिपक्क नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुन सक्छ। देश पुनः द्वन्द्व अस्थिरतामा जान सक्छ यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोपमा ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!