सुजिता मृत्यु प्रकरण: पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यूआदेश जारी गरिएको छ। राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर प्रदर्शन बढ्न थालेपछि प्रशासनले राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ।

राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क ९१० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो।

आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ।

प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए। प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

झडपमा आठ प्रहरी घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित चार जना र नेपाल प्रहरीका चार जना घाइते भएका छन्। घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ।

प्रकाशित मिति: : 2021-07-06 19:48:00

प्रतिकृया दिनुहोस्