काठमाडाैंका मेयर शाक्यले भने- 'कार्टून बनाएर मेरो प्रचार गरेकाेमा धन्यवाद'

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानून-नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्।

कोभिडकाे विषम परिस्थिति 'फ्रन्टलाइनरहरु'को सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको उनले गुनासाे पाेखे।

‘कार्टून बनाएर मेरो प्रचार गरियो। उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद’, शाक्यले भने, ‘तर, सर्वोच्चको आदेश र महानगरपालिकाको कानून-नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न।’

प्रमुख शाक्यले आफू सकारात्मक सुझावलाई आत्मसात र ग्रहण गर्न तयार रहेको पनि बताए। ‘म सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’, उनले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै शहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होर्डिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको छ। त्यसैले मेयरलाई देखाइदिन्छौं भनेर नीति-नियमको उल्लङ्घन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं।’

उनले २०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होर्डिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्प्लेट लगायतका सामग्री हटाउन आदेश दिएकाे समेत स्मरण गरे।

महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएकाे उनले स्पष्ट पारे।

‘पैसा तिरेर विज्ञापन राख्छौं भन्दा पनि हामीले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो। त्यसबाट आय स्रोत त हुन्थ्यो नि, हामीले नीति छैन भनेर दिएनौं। त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपमेयरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ’ उनले भने।

यसअघि पनि दरबार हाईस्कूल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायत स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए। 

प्रकाशित मिति: : 2021-07-06 17:20:00

प्रतिकृया दिनुहोस्