थाइल्याण्डको फुकेट क्षेत्र चर्चित, सुन्दर र सस्तो छ।
पूर्वी एसियाको प्रख्यात् पर्यटकीय स्थल फुकेट पुग्न जो–कोही पनि मरिहत्ते गर्छन्। प्रायः दक्षिण र पूर्वी एसियाली नागरिकहरू छुट्टी मनाउन र परिवारसहित रमाउन यहाँ आउछन्।
नेपाल, भारत, पाकिस्तान, म्यान्मारका नागरिकहरू कम आर्थिक भारमा थाइल्याण्ड सलिजै डुल्न सक्छन्।
हरेक वर्ष थाइल्यान्डले १ करोड ४० लाख पर्यटकलाई स्वागत गर्छ। गत वर्ष चालिस लाख मात्र पर्यटक थाइल्याण्ड पुगेको बीबीसीले जनाएको छ।
फुकेटमा यो वर्षको पर्यटक सीजन सुरु हुनुअघि नै ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप लगाइँदैछ।
खासगरी फुकेटको सुन्दर दृश्य र यहाँको रमझममा रमाउनेहरूको ठूलै जमात भेटिन्छ। यो प्रान्त थाइल्याण्डको दक्षिणी भागमा रहेको छ।
फुकेटको क्षेत्रफल ५७६ वर्ग किलोमिटर रहेको छ, जुन सिङ्गापूरको भन्दा सानो हो तथा यो प्रान्त थाइल्याण्डको दोश्रो सानो हो।
यहाँ वर्षेनी लाखौँ मानिस आउने गर्छन्। तर, यसपल्ट भने कोरोना महामारीले फुकेट पनि थलिएको छ।
समुन्द्रको तट छेउ पुग्नेहरू सबै कुरा बिर्सेर रमाउँछन्। उनीहरू हप्तौँसम्म पनि बस्ने गरेको थाइ अधिकारीहरूको भनाइ छ। फुकेट महंगो छैन। यहाँ पुग्ने जो–कोहीलाई पनि बस्न, डुल्न र खानाको चर्को आर्थिक भार पर्दैन।
फुकेटको पहिलाको मुख्य आम्दानीको श्रोत टीन तथा रब्बर रहेको थियो भने यसको इतिहास मुख्य आकर्षण हाे।
यो द्वीप भारत तथा चीनसँगको मुख्य व्यापारिक मार्ग थियो। विदेशीको समुन्द्री यात्राको अभिलेखमा सो स्थानको व्याख्या समेत गरिएकाे छ। हाल यस प्रदेशको मुख्य आम्दानीको श्रोत भनेको पर्यटन हाे।
फुकेटको समुन्द्री तटमा सबैभन्दा बढी परिवारका सदस्य र नयाँ जोडीहरू देखिन्छन्। यहाँको समुन्द्र चर्को गर्मीमा पौडी खेल्नकाे लागि निकै उपयुक्त मानिन्छ।