अन्तर्राष्ट्रिय दृष्टिकोण, वैदेशिक मामला वा राष्ट्रिय राजनीतिक राज्यव्यवस्था जुनसुकै तवरमा पनि अन्धराष्ट्रवाद संकीर्ण राजनीतिक दृष्टिकोण हो
अति राष्ट्रवादी भावना कुनै पनि मुलुकका लागि हानीकारक मात्र नभई प्रत्युत्पादक पनि हुनजान्छ भन्ने कुरा राजनीतिज्ञ, राजनीतिक चिन्तक र राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्। कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको पाइन्छ। ‘अतिराष्ट्रवाद’ भन्नु ‘अन्धराष्ट्रवाद’ हो। सिद्धान्ततः एकदलीय राजनीतिक प्रणाली लागू भएका मुलुकमा त्यहाँको सर्वोच्च शासकको मनोमानी रहन्छ। राजनीतिक दलहरू रहँदैनन् वा प्रतिबन्धित रहन्छन्।
विश्वका केही कम्युनिष्ट देशहरूमा अति राष्ट्रवाद कायम रहेको देखिन्छ। चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक भएकाले त्यहाँ एकदलीय शासन प्रणाली छ। उत्तर कोरिया, क्युवा लगायतका केही मुलुक वर्तमानका कम्युनिष्ट मुलुक हुन्। नेपालमा कम्युनिष्ट पार्टीले बेलाबेलामा सरकारको नेतृत्व गर्दै आएको छ तर नेपाली कम्युनिष्टहरू बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीमा २०४६ सालदेखि नै प्रवेश गरी त्यसमै अभ्यासरत हुँदै आएका छन्।
अतिराष्ट्रवाद एक प्रकारले उग्रराष्ट्रवादी चिन्तनबाट प्रकट हुन्छ। एउटै वैचारिक समानतामा चलेका मुलुकबाहेक अन्य मुलुक, अति राष्ट्रवादका लागि शत्रुवत रहन्छन्। अतिराष्ट्रवादी दृष्टिकोण अनुसार उदारवादी राजनीतिक प्रणाली राष्ट्रविरोधी ठहरिन्छ। कतिपय कम्युनिष्ट मुलुकमात्र होइन, प्रजातन्त्रवादी मुलुककै जननिर्वाचित नेतृत्व कतै कतै अतिराष्ट्रवादी भएका कारण विवादित हुन पुगेका उदाहरण छन्। उग्रवादी अर्थात् उग्रराष्ट्रवादी चिन्तनमा विध्वंसात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको हुन्छ। अतिराष्ट्रवाद, उग्रराष्ट्रवाद र अन्धराष्ट्रवादमा भिन्नता रहेको महसुस हुन्छ। राष्ट्रियताका लागि यी तीनवटै राष्ट्रवाद हानिकारक छन्।