म्यान्मार सैन्य सरकारले रिहा गर्‍याे २३ सय बन्दी (भिडियोसहित)

Photo - RFA
Photo - RFA

म्यान्मार सैन्य 'जुन्ता' सरकारले बन्दीगृहमा रहेका २३ सय बन्दीहरुलाई बुधबार रिहा गरेकाे छ। 

राजधानी नेपिदाेलगायत विभिन्न प्रान्तकाे जेलमा रहेका २३ सय म्यान्माली राजनीतिक बन्दीलाई रिहा गरेकाे म्यान्मार नाउले जनाएकाे छ। 

प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले पनि विभिन्न हिरासतमा बन्दी अवस्थामा छन्।

हजारौँ बन्दीहरु मध्ये २३ सयलाई सैन्य सरकारले रिहा गरेकाे हाे। 

गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यान्मारमा अहिलेपनि स्वतन्त्र नागरिक मारिने र गिरफ्तार पर्ने क्रम जारी छ। सेनाले शीर्ष नेताहररूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।

सरकारले यसअघि म्यान्मारकाे नयाँ वर्षका अवसरमा २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गरेकाे थियाे। 

यसपल्ट पनि चर्चित सामाजिक कार्यकर्ता र  नेशनल लिग फर डेमोक्रेसी पार्टीका सांसदहरू रिहा भएनन्। तर, समाचार लेखेकै कारण हिरासतमा पुगेका कयाैँ पत्रकार रिहा भएका छन्। 

राजनीतिक बन्दीहरू मुक्त हुने खबर एकाएक फैलिएपछि बन्दीगृह परिसरमा परिवारका सदस्यहरूकाे बाक्लाे भीडभाड देखिएकाे म्यान्माली सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2021-07-01 06:28:00

प्रतिकृया दिनुहोस्