म पाँच, छ कक्षा पढ्दै गर्दा हाम्रो मकैबारी जोत्न टौदहतिरबाट बिहानै एक जना कामीबा आउनुहुन्थ्यो। हाम्रो घर आउँदा उहाँ जहिले पनि चोटामा पुगेर भर्याङछेउको सानो ठाउँमा कुप्रेर बस्नुहुन्थ्यो।
एकचोटि मैले आमालाई सोधेँ, ‘उहाँ कति अप्ठ्यारो गरी भुइँमा बस्नुभएको। यता आएर सुकुलमा बस्नू भन्नु न।’
आमाले कामीबालाई त्यही कुरा भन्नुभयो। तर, उहाँ सुकुलमा आएर बस्न मान्नुभएन।
‘होस्, यहीँ ठिक छ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यहाँ आउन हुन्न।’
आज म कामीबाको मनस्थिति बुझ्न सक्छु। सदियौंदेखि कथित उपल्लो जातिले छेउ लगाउँदा लगाउँदा उहाँहरूको मस्तिष्कमै हामी छेउ लाग्नुपर्ने जात हौं भन्ने धारणाले घर बनाइसकेको थियो। उहाँहरूलाई त्यो अवस्थामा पुर्याउने यो देशको राज्य, समाज र कानुन हो।
समय बदलिएको छ। आजको दलित पुस्तामा व्यापक परिवर्तन आइसकेको छ। आफ्ना पुर्खालाई मानिससरह आत्मसम्मानपूर्वक बाँच्नबाट वञ्चित गर्ने धर्म, कानुन र समाजसँग अब कायर भएर होइन, डटेर सामना गर्नुपर्छ, आफ्नो अधिकार निम्ति लड्नुपर्छ भन्ने विद्रोहको भावना जागृत भएको छ। उनीहरूमा आफ्ना पुर्खालाई सदियौंदेखि सीमान्तकृत, उत्पीडित र विभेदमा जिउन बाध्य पारिएको पीडा छ। त्यो पीडाबाट मुक्त हुन उनीहरू विभिन्न रूपमा विद्रोह गर्दै आइरहेका छन्।