गोसाई, अचेल को आउनाछन् कुलाको डिलबाट रोपाईँ हेर्न ? (भिडियाेसहित)

मेरा बा का ठूला खेत बोलिजाली ढोल ||
सुन्नरी भैंसीको घाणो बोलिजालो रोल ||

हाम्रा चाडपर्व भन्नु नै सभ्यता र संस्कृतिका पाटा हुन्। आपसी सद्भाव र भाइचारामा रमाउन सिकाउने पाठशाला हुन्। पूर्वजका पालादेखि मनाउँदै आएका जिन्दगीका सुन्दर झङ्कार हुन्। जसभित्र लपेटिएका हुन्छन् उमङ्गका भाकादेखि, प्रशस्ती, पीडा, अभाव, मायाप्रेम, अन्याय अत्याचार वीरता र बलिदानका भाकाहरू।

भक्तबहादुर बलायरले बेलु खण्डकाव्यमा भनेझैं नवदुलहीले बाबाको खेत र खेतमा बज्ने ढोल अर्थात् ढोलक सम्झने महिना यही हो। चारैतिर लेकमा कुहिरो लोट्न थाल्दा सुनिने त्यो सुन्नरी भैंसीको घाडोको ध्वनीले छुट्टै भाव उत्पन्न हुन्थ्यो। त्यस्तो भाव उत्पन्न गराउने महिना पनि यही नै हो।

डोटीको शिखर नगरपालिका १० स्थित बानेडुग्री सैनबाट दुई किलोमिटरमाथि डाँडाको फेदीमा देखिन्छ– लोभलाग्दो तप्पड। कति वर्ष बाँझैं रहेको उक्त तप्पडमा आधि जमीन अर्झै बाँझो नै छ। आधिमा तरकारी खेती, बाख्रा पालन र कुखुरा पालन गरिएको छ।

प्रचण्ड गर्मी हुने उक्त ठाउँको उकालो सानै भए पनि कठिन ठानिन्थ्यो। अचेल गाडि गुड्छ किनारबाट। पर्दैन माथि उच्चाकोटतिर जानेहरूले त्यो बाटोमा हिँड्न। डाँडाकाँडा र जङ्गलको बीचको मडेगुणा नामक उक्त तप्पडमा बसोबास गरिरहेका छन् महाराका दुई परिवार। 

उक्त तप्पडमुनि गाडको किनारमा रहेको टेक बहादुर महाराको खेतमा बजिरहेका थिए बाजा। एकाबिहानै आइसकेका थिए शिखर नगरपालिकाका मेयर, उपमेयर, सिडिओ, एसपी, जिल्ला कृषि कार्यालयका कर्मचारी र केही पत्रकारहरू।

आषाढ १५ अर्थात् नेपाल सरकारले मनाउने गरेको घान दिवश। किसानका खेतहरूले नेपाल सरकारको व्यानर पर्खिरहेजस्तो। ठूलाबडाका पाइताला खोजिरहेजस्तो देखावटी समयको मझघारमा उभिएर क्षणभर टोलाइरहँें। 

रोपार्इँँको खाजा दही चिउरा, अचार तरकारी र पुरी खाने क्रममा लक्षी महराले एसपी दानबहादुर मल्लसँग भनिहाले –‘खाऊ पन तमी, दहीले के बिगाडन्छ रे। दहीले त पचाउने काम गरन्छ।’ 



डेउडा भाषा कसो हुन्छ र, गोसाई ?

दुई महिना कसरी काँटू ?



७३ वर्षीया महरा १० वर्षअघि जस्ता देखिन्थे, उस्तै छन्। कामकाज गरेको ज्यान। अनि गाउँघरतिरको अर्गानिक खाना। आधुनिक कृषि प्रणालीबारे बुझेका छन् पछिल्लो समय। अहिलेको कृषि प्रणालीले बढी उब्जाउ हुने बीउ र सरसल्लाह  दिइरहेको छ उनीजस्ता कैयौं किसानलाई। 

जिल्लाबाट आएकालाई खाजा खुवाउन भनेर एक हूल मान्छे माथि नै थिए। सिडिओदेखि एसपीको दलबलसम्मका थुप्रै जना उपस्थित उक्त माहोल हेर्दा लाग्थ्यो त्यहाँ कुनै उत्सव भैरहेछ। उसो त आषाढको महिनाका हरेक दिन उत्सव नै हुन्  किसानका लागि। 

त्यसैमा आफ्ना खेतकी रोपार्इँँ भने पछि उत्सवझैं ठान्थे विगतमा पनि। तर, डाँडाकाँडाबाट त्यो उत्सव हेर्ने ग्वालाहरू(गोठाला) देखिएनन्। वरपरका अन्य खेतमा पनि देख्न सकिएन रोपार्इँँ।

आफँैमा एउटा इतिहास बनिसकेको सीताराम माबितिर जाने उकालोमा पनि देखिएनन् कुनै पाइलाहरू। माथि डाँडाको पाखो जमिनमा यतिखेर देखिनु पर्ने हरिया धानका गराहरू देखिएनन्। बाँझै छन् माथिल्लो वेल्टका अधिकांश गराहरू। सुनसान छन् अचेल माथि उच्चाकोट तिरका गाउँहरू। छैन् विगतको जस्तो रौनक। 

शिखर नगरपालिकाका अधिकांश गाउँको जमिन उर्वर मानिन्छ धान उत्पादनका लागि। तर खेती गर्ने युवापाइला भारतका गल्ली र खाडि मुलुकतिर छन्। कतिपय मान्छे तराई झरिसके। सिचाई तथा कुलोको प्रबन्ध नह“ुदा अधिकांश खेतीयोग्य जमिनमा रोपार्इँँ गर्न सक्ने अवस्था छैन। 

सिंचाईको ब्यवस्था नभएकै कारण डोटीमा अहिले पनि ३० प्रतिशत खेतीयोग्य जमिन बाझै छ। कृषि ज्ञान केन्द्र डोटीका अनुसार १० हजार ७ सय १० हेक्टर खेतीयोग्य जमिनमध्य ४२ प्रतिशत खेतमा मात्र रोपार्इँँ भएको छ। डोटीमा बार्षिक २९ हजार ९ सय ८८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ। 



सम्राटले के जान्दथे विसुँको महत्व 

तमीलाई त किताब मात्र देखाया हुँ, हजुर !



विगतमा यतिखेर चारैतिर सुनिन्थ्यो ढोलकको आवाज। घन्किन्थे चैत र धमारीका भाका। लोप हुँदै गइरहेको छ पुरानो संस्कृति। तथापि बचेखुचेका केही पुराना अनुहारले जोगाइरहेकै छन् अहिलेसम्मन संसकृतिका पाटाहरू। ढोलकको तालमा धमारी खेलिरहेको देख्ना साथ निकै उत्साही बन्न थाले शिखर नगरपालिकाका मेयर सीताराम जोशी। 

विगतका दिनको याद आएजस्ता देखिन्थे उनी पनि। चैत, धमारी,चाँचरी जस्ता गीत गाउन कस्सिहाल्ने रसिक स्वभावका रहडी मेयर जोशी बाजाको तालमा हिलोमा पैतली मार्न थाले। साथमा थिए नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष योगेन्द्र बलायर, जिल्ला कृषि कार्यालयका अधिकृत नरेन्द्र पनेरु र मेयरका स्वकीय सचिव केशव जोशी।

जसैगरी पुराना स्थानीय जातका बालीहरू हराउँदै गए उसै गरी पुराना दिनमा गाइने र खेलिने खेल पनि लोप हुदै गइरहेका छन्। आधुनिकताका नाममा देखापरेका बाह्य संस्कृतिका बाछिटाहरूले बिस्तारै सम्राज्य जमाउन थालेपछि पूर्खाका पालाका संस्कार, सभ्यता र संस्कृतिका पाटाहरू निरिहझै देखिन थालेका छन्। यो पीडा न कुनै दिवशमा भेष्ट वितरण गर्नेहरू बुझ्छन्, न त व्यानरसहितको तस्विर टासेर प्रगति प्रतिवेदन तयार पार्ने विज्ञहरू नै।
सोभान दमाइको समूहले बजाइरहेको बाजाको तालले जीउ झंक्रित भैदिन्थ्यो। कुलाको पानी बगेझैं क्रमैसँग याद बनेर मनभरी बगिरहन्थे पुराना दिनहरू। त्यो ठाउँ जीवनको यौटा गौडो पनि हो। कैयौं पाइलाले त्यही बाटो भएर विगतमा यात्रा गरेका थिए।

खेतमा खुट्टाले हिलो सम्याउँदै धमारी खेलिरहेकाहरूको स्वर र बाजाको तालले छाइरहेकै थियो छुट्टै प्रकारको रौनक। पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीको क्योमेरासमेत उसै गरी रमाइरहेको थियो रोपाइँँमा। क्यामेराले कैद गर्न पाइरहेको थियो चैत र धमारीको खेल र लय।   

चइतमा भगवान्को चरित्र चित्रणदेखि, कुनै राजा रजैटा र काजी रजवारको चरित्रको चित्रण गरिएको हुन्छ। संगीतका विभिन्न तालहरूमध्य धमार तालमा गाइने गीतलाई धमार अर्थात धमारी भनिन्छ। 

प्रायःजसो धमारीमा राधाकृष्ण र गोपि गोपिनीकोे वर्णन गरिएको पाइन्छ। 

यसमा मीड र गमकको निकै प्रयोग भएको देखिन्छ। खटका र तान जस्ता स्वर समूह धमारीमा वर्जित हुन्छन्। गाउने वाला यसमा सर्गम पनि गाउछन् तर यो त्यस प्रकारका सरगम देखि अलग हुन्छ। 

खेतमा थुप्रैजना बाउसे भएको उक्त रोपाइँँमा धमारी खेल्नेहरू दश बाह्र जनामात्र थिए। यसबाट सजिलै अनुमान लगाउन सकिन्थ्यो युवा पुस्ताले सिकेको छैन भन्ने कुरा। युवाहरू अर्कैतिर थिए मात्र वयस्क र बृद्धाहरू खेलिरहेका थिए धमारी।

कर्णप्रिय स्वरका धनि शालिभान दमाइले चैत धमारी गाउँदाको त्यो परिवेश छुट्टै भैदिन्थ्यो। रोपाइँँमा बाजाको चलन परम्परागत नै हो। बेठकी रोपाइँँ भन्ने हुन्थ्यो विगतमा। गाउँका मुखियाको खेत गाउँलेहरूले गएर रोपिदिन्थे। 

मुखियाले पर्मा तिर्नु नपर्ने  त्यस्तो खाले रोपार्इँँलाई नै बेठको रोपार्इँँ भन्थे। दिनभर बाजागाजाका साथ नाच्दै गाउँदै रोपार्इँँ गरिदिने रोपार्इँँ सकेपछि मुखियालाई काँधमा चढाएर घरसम्म पु¥याउनु पर्ने, साँझ मुखियाको आँगनमा समेत चैत धमारी गाएर रमाइलो गर्नुपर्ने हुन्थ्यो। यति गरेबापत मुखियाले बोका खान दिन्थे।

विगतमा बिहान, दिउँसो र बेलुकी समेत गरी दिनमा तीन वटा रोपाइँँ सम्म पनि गर्नु पर्ने हुन्थ्यो। यस्तो बेला बाजाको ठूलो महत्व हुन्थ्यो। बाजाको तालमा खन्दै नाच्दै,खेतका गरा सम्याउँदै गर्दा थकाइको आभाष नै पाइँदैन। यसरी आषाढमा दिनहुँ हौस्याउँदै छिटो रोपार्इँँ सिध्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ढोलकको तालले। 

तर, चैत, धमारी बिस्तारै कम हु‘दै गएका छन्। चासो छैन नयाँ पिढीलाई यसप्रति। हरेक वर्ष रोपाइँँँ दिवस मनाउन लगाउने कृषि मन्त्रालयदेखि जिल्लाका कृषि कार्यालयले उन्नत जातको बालीनाली उत्पादनमा सल्लाह दिए पनि संस्कृतिका यस्ता बहुमूल्य पाटाप्रति ध्यान दिने कुरै भएन। 
खेतमा ब्यानर देखाएर फोटो खिच्ने संस्कार भित्रिदै गर्दा खेतमा ढोलकको तालमा गानाबजानाका साथकाम काज गर्ने चलन हराउँदै गइरहेको छ। किसानको मार्का बुझ्छौं भन्ने सरकारले न खिइँदै गएको संस्कृतिको मार्का बुझ्न सक्छ, न त डोटेली संस्कृतिको अग्रपंक्तिमा देखापर्ने वाद्यवाधकहरूको नै मार्का बुझ्छ।

सरकार भाषण गर्न सिकाउछ, चाकडी चाप्लुसी गर्न सिकाउछ। अनि सिकाउछ ऋतु परिवर्तनसँगै देखा पर्ने धान दिवशजस्तै अन्य कैयौं दिवशलाई ब्यानरमा बोकेर फोटो खिचाउन। प्रगति प्रतिवेदन रिपोर्ट तयार पार्न र ठूलै उपलब्धि भएको घोषणा गर्न। 

क्यामेरामा रोपाइँको दृश्य कैद गरेर फर्किएपछि साँझपख आइपुग्छ देउसराको फोन। मलाई बोल्ने मौका नै नदिइ एकोहोरो तेस्र्याउछिन् उनले प्रश्न – रोपाइँबटा है पकडीबर(पक्रेर) लैजाने जसा तति पुलिस केलाइ हुन् आजकी रोपाइँँमी आएका ? उइल ठाट्टिएर गएका मुख्याले जुँगा मुसार्दै लठ्ठीमा अडेस लगाएर कुलाका डिलऽ बटा है हेद्दथे रोपाइँ। गोसाई ! अचेल को को आउनाछन् कुलाका डिलमी कल्लिबर (उभिएर) रोपाइँँ हेद्द ?

प्रकाशित मिति: : 2021-06-30 17:51:00

प्रतिकृया दिनुहोस्