५० दशकको अन्त्यतिर एथ्लेट बन्ने पाइला चाल्दै गर्दा इलामको माई नगरपालिका–१० लुम्बक (साविक चिसापानी) की प्रमिला रिजालको सपना विभागमा खेलाडीको रुपमा जागिर खाएर आमालाई सुख दिने थियो।
९ वर्षको उमेरमा नै बाबु गुमाएकी उनले आफु र दाजुहरूलाई हुर्काउन आमाले गरेको संघर्ष नजिकैबाट अनुभूत गरेकी थिइन्। तर उनले सोचेकी थिइनन्, चिसापानीको डाँडाकाडाँको दौडानले जागिर मात्र हैन, एउटा बेग्लै पहिचान समेत दिन्छ भनेर।
उनको परिश्रम, स्कुलमा गुरुहरूले दिएको हौसला र परिवारको मायाले विभागीय टोली शसस्त्र प्रहरीको एपिएफमा जागिर मात्र खाइनन् हरेक एथ्लेटको सपना ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व समेत गर्ने अवसर पाइन्।
ओलम्पिक यात्रा
प्रमिलाले वाइल्ड कार्डमार्फत सन् २०१२ को लन्डन ओलम्पिकमा सहभागिता जनाइन्। ‘हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ। तर सबैको सपना पूरा हुँदैन। सपना देख्ने हजारौ नेपाली खेलाडीमध्ये भाग्यमानी सावित बने। लन्डन ओलम्पिकमा सहभागि भएर रेकर्ड सुधार गर्ने सपना थियो त्योचाहिँ पूरा भएन। तर पनि खुशी नै छु।’
९ वर्ष अघिको त्यो सहभागिता सम्झिँदा उनी अझै रोमाञ्चित हुन्छिन्। ‘चन्द्र सूर्य अंकित देशको झण्डा लन्डनको ओलम्पिक रंगशालामा लहराउँदा गर्वले छाति फुलेको थियो। नेपाली प्रति देखाएको सद्भाव देखेर प्रशिक्षण दौरान बोकेको चोट समेत बिर्सिएँ। हजारौं दर्शकका माझमा दौडन पाएको त्यो अवसर शब्दमा कसरी बयान गरौं। यहाँ हामी दौडदा हेर्ने कोही हुँदैन थिए ओलम्पिकमा नेपाल... नेपाल भन्दै दिएको समर्थन अझै पनि याद छ।’
प्रमिला र अन्य खेलाडी ओलम्पिक सुरु हुनु महिना दिनअघिदेखि नै बेलायतको केन्टमा प्रशिक्षण लिइरहेका थिए। नेसनल रेकर्ड ब्रेक गर्नेमा ढुक्क थिइन् प्रमिला। थप पीडा हुन नदिन वार्मअप ग्राउन्डमै फिजियोथेरापी र हल्का मसाज गरेर उनले अभ्यास कायमै राखेकी थिइन्।