रिब्दीकोटमा अनलाइनबाट पठनपाठनको तयारी

File photo
File photo

पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन्। 

रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए। निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन्। 

विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि बालबालिकाको अध्ययन प्रति रुचि हराएको छ। यसैलाई मध्यनजर गरी यहाँका विद्यालयले अनलाइन कक्षाको तयारी गरेका हुन्।  

असार १६ गतेदेखि अनलाइन प्रविधिको प्रयोग गरी पठनपाठ्न सञ्चालन गर्ने तयारीमा शिक्षा शाखा जुटेको गाउँपालिकाका अध्यक्ष जिसीले बताए। 

निषेधाज्ञा शुरु भएसँगै पाल्पाका सामुदायिक विद्यालय पूर्ण रुपमा बन्द भएका छन्। नीजि विद्यालयले निषेधाज्ञाको अवधिमा अनलाइनबाट पठनपाठन सञ्चालन गरेपनि सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी पढ्नबाट वञ्चित भएका हुन्। 

पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई जुमबाट सिकाइमा निरन्तरता दिइने र यसको आधारमा अन्य कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा सिकाइ हुने गाउँपालिकाका अध्यक्ष जिसीले बताए। 

उनका अनुसार अनलाइन प्रविधिमा विद्यार्थीको सहभागीता र शिक्षण सिकाइ प्रभावकारी भएको अवस्थामा तल्लो तहका कक्षाहरु अनलाइनबाटै सञ्चालन हुने बताए। 

शिक्षक महासङ्घ रिब्दीकोट र गाउँपालिकाको छलफलबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले बताए। 

शिक्षक महासङ्घका प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि बीचको छलफलले असार १६ गते देखि अनलाइन जुमको सहायताबाट पठनपाठन गराउने निर्णय भएको शाखा प्रमुख खनालको भनाइ छ। 

विद्यालयका सम्बन्धित विषयका शिक्षकमार्फत विद्यार्थीसँग सम्र्पक भइरहेको खनालको दाबी छ। अनलाइन प्रविधिबाट कक्षा सञ्चालन हुनु अगाडि नै विद्यार्थीसँग सम्र्पक गरी अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ वा छैन भनी बुझ्ने काम भएको शिक्षा शाखाले जनाएको छ।

विद्यालयले विषयगत शिक्षक तथा विद्यार्थीलाई १५ गते भित्र जुम आइडीको बारेमा जानकारी गराउने छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द अर्यालका अनुसार अभिभावकसँगै रहेर विद्यार्थीले अनलाइनबाट पठनपाठन गर्दा अनुशासित हुने र शिक्षण सिकाइ प्रक्रिया पनि प्रभावित नहुने बताइएको छ। 

रिब्दीकोट गाउँपालिकाको ग्रामीण क्षेत्रमा अव्यवस्थित रहेको अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षक विद्यार्थीमा उत्साह आएपनि समय समयमा विद्युत् र इन्टरनेटमा आउने खराबीका समस्या हुने गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-28 15:49:00

प्रतिकृया दिनुहोस्