राजनीतिक सोर्सफोर्सको बलमा छानिएका पदाधिकारीको छनोट प्रक्रिया र मेरिटमा चाहिँ किन प्रश्न गरिँदैन ?
रूपा सुनार, एक दलित युवती। काठमाडौंमा नयाँ डेरा खोज्ने क्रममा भेटिएकी घरबेटीसँगको सुरुवाती वार्ताले उनलाई खुसी तुल्याउँछ, घरभाडा लिनेदिने वार्ता सजिलै टुंगियो। तर, उनी चरम निराश हुन धेरै समय लागेन, जब कोठा भाडामा पाउन उनको जात तगारो बन्ने प्रवृत्ति फेरि प्रकट भयो। रूपाको जात थाहा पाएपछि घरबेटीले आमालाई सोध्नुपर्छ भन्नेर बहाना बनाइन्।
अनि, केही घन्टापछि निर्णय सुनाइन् र प्रस्ट छनक दिइन्, रूपा, तिम्रो जातका कारण तिमी हाम्रो घरमा बस्न अयोग्य छ्यौ। तिम्रा कोही गैरदलित साथी भए चाहिँ भाडामा बस्न पठाइदेऊ। यो आमदलितले भोग्दै आएको पीडा थियो र रूपाका लागि पनि यो पहिलो अनुभव थिएन। जातीय छुवाछुतविरुद्धको कानुनबारे ज्ञान भएकी सचेत दलित युवती रूपालाई यसपटक भने मौन बस्न मनले मानेन। कानुनी बाटो समाउँदै उनी प्रहरीमा पुगिन्। उजुरी दर्ता भयो तर बडो कष्टसाथ। प्रहरीले घरबेटीलाई हिरासतमा लियो। लगत्तै पत्रपत्रिका, सामाजिक सञ्जाल र सडकमा पक्ष र विपक्षमा व्यापक बहस र टीकाटिप्पणी भए। तब पुनः उद्घाटित भयो, नेपालमा जातीय भेदभाव र छुवाछुतको जर्जर अवस्था। बहस तात्यो, कोठा र कोटाको।
कोठामा विभेद : छानबिनले के देखाउला, अदालतले के भन्ला हेर्न बाँकी छ– यदि अदालती प्रक्रिया अघि बढ्यो भने। सरसर्ती हेर्दा घटनामा जातीय विभेद झल्किन्छ। कतिलाई लागेको छ, रूपाले उजुरी हाल्नु हुन्नथ्यो। प्रहरीले घरबेटीलाई हिरासतमा लिनु हुन्नथ्यो किनकि जातीय विभेद बिस्तारै हट्ने विषय हो। यस्तो बिस्तारै हुन्छ भन्ने भाष्यको अर्थ हो, कोठा बिस्तारै पाइन्छ, जातका कारण दिइएन भन्दैमा उजुरी नगर। छुवाछुतको अमानवीय हर्कत सहँदै गर। अन्तर्जातीय प्रेम गर्दा दलित मारिन्छन्, समाज तयार नभएसम्म त्यस्तो प्रेम नगर। दलित कुटिन्छन्, बिस्तारै कुट्न छोड्छन् भनेर शान्त बस, नत्र सद्भाव खलबलिन्छ।