विद्यार्थीले सुरु गरे 'एक विद्यार्थी एक रुख' अभियान

कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन्।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलफूलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन्।

विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलपूmलका बिरुवा उपलब्ध गराएको छ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलोचरणमा ५०० बिरुवा रोपिएका छन्। अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउछन्।

“अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन”, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आउनुभएका महतोले भने, “जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ।”

शैक्षिक, भौतिक अवस्था बिग्रँदै गएको विद्यालयमा गत वर्षको प्रारम्भदेखि नै महतोसहितका अभिभावकले विद्यालय केन्द्रित शैक्षिक जागरण सञ्चालन गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2021-06-27 09:37:00

प्रतिकृया दिनुहोस्