मसँग जुरुक्क उठेर हिँड्नुको विकल्प थिएन। बस्न मन हुने कुरै भएन। भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन।
त्यतिबेला थियो त केवल एउटा आकृति, ठीक अघिल्तिर अनुहारभरि आक्रोश बोकेर बसेको।
मेरा आँखा टिलपिल हुनुअघि उसले भनेको थियो – 'मलाई कसैको 'मेन्टल, इमोसनल स्टेट'को मतलव छैन। बस् काममा 'हन्ड्रेड पर्सेन्ट' चाहियो।'
पक्का भयो, कामका अगाडि मैले झेलिरहेका प्रश्नहरू, प्रश्नका कारण दिमागमा चलेको आँधी अनि मलाई लागेको चोट अति गौण हुन्। त्यहाँ कामले मात्र अर्थ राख्थ्यो। आँशु खसाल्नुको मूल्य थिएन।
सरासर उठेर आफ्नो कोठासम्म पुगेँ। केही खुड्किलो उक्लिँदा शरीर फतक्क गल्यो। दिमाग भने त्यस ठाउँ छोडेर भागिसकेको थियो, पहिल्यै। किनकि अब त्यहाँ मैले चाहेर पनि पूर्णरुपमा प्रस्तुत हुन सक्दिनथेँ।
अरे यार, कामकै लागि एक पर्सेन्ट पनि निद्रा नपुर्याएको चार रात भइसकेको थियो। ३४ घण्टापछि चिसो भातका सिता निल्दा मुख र आन्द्रा दुवै बिझाएका थिए। यी सब सहेको, काम भनेरै थियो। काम गर्ने उत्साह बोकेर उकालो लाग्दालाग्दै, बाटोमा अलपत्र छाडिएँ। जताबाट आएको त्यतै फर्कनु सजिलो विकल्प थियो। तर, कामप्रति म पनि उत्तिकै जिम्मेवार महसुस गरेँ र त फनक्क फर्किन सकिनँ।