मन्त्री श्रेष्ठले अपराध गरे, जातको कुरो गर्नेलाई जेल हाल्नुपर्छ : मोदनाथ

रातोपाटी

काठमाडौँ

जातीय छुवाछुत गर्ने कसुरदारलाई संरक्षण गरेको भन्दै एमाले नेता एवं शिक्षामन्त्री  कृष्णगोपाल श्रेष्ठको चौतर्फी आलोचना सुरु भएको छ । नेकपा एमालेकै पूर्वनेता एवं पूर्वशिक्षामन्त्रीसमेत रहेका संस्कृतिविद् मोदनाथ प्रश्रितले भनेका छन्, ‘जातपात छुवाछुत प्रथाको त हामीले खारेज नै गरेको हो । जसले यस्तो कुरा गर्छ, त्यसलाई त जेलमै हालिदिनुपर्छ । मन्त्रीले सामाजिक अपराध गरेको व्यक्तिलाई संरक्षण गर्नु, त्यो पनि अर्को अपराध हो ।’

जातीय उत्पीडन गरेको आरोपमा सिंहदरबार प्रहरीबृत्तमा थुनामा रहेकी बबरमहलकी स्थानीय घरबेटी सरस्वती प्रधानलाई बुधबार आफ्नै गाडीमा चढाएर घर पुर्रयाएपछि मन्त्री श्रेष्ठ आलोचनाको निशानामा परेका हुन् ।

गत असार १ गते बबरमहलस्थित प्रधानको घरमा कोठा खोज्न गएकी रुपा सुनारले आफूमाथि जातीय विभेद भएको आरोप लगाएकी थिइन् । उनले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा गत असार ३ गते सरस्वती प्रधानमाथि कारवाही गर्न माग गर्दै जाहेरी दिएकी थिइन् । राष्ट्रिय मानव अधिकार आयोग तथा दलित आयोगमा पनि रुपाले उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: : 2021-06-25 10:47:00

प्रतिकृया दिनुहोस्