ढल्केबरमै ट्रमा सेन्टर बनाउनु पर्ने माग राख्दै स्थानीयकाे प्रदर्शन  

विजय साह

ढल्केबर

सरकारले बजेट भाषणमा 'ढल्केबरकाे ट्रमा सेन्टर सहितकाे ५० शैय्याकाे अश्पताल निर्माण' भनेर छुट्याएकाे बजेट आफ्नाे व्यक्तिगत स्वार्थकाे लागि नेकपा (एमाले) का नेताद्दय रघुवीर महासेठ र हरिनारायण महताेले लालगढ पुर्याउन खाेजेकाे भन्दै स्थानीय आन्दाेलित बनेका छन्।

महासेठ र महताे प्रधानमन्त्री तथा केपी शर्मा अ‍ोलीनिकट मानिन्छन्। महासेठ सर्वाेच्च अदालतद्वारा विघटित मन्त्रीपरिषद्का उपप्रधान तथा परराष्ट्र मन्त्री थिए भने महताे पूर्वकाे प्रवेशद्वार धनुषाकाे ढल्केबरमा पर्ने मिथिला नगरपालिकाका प्रमुख हुन्।

'ट्रमा सेन्टरबारे नेतृत्वमा चेत देखिदैन', एमालेका संगठित सदस्यसमेत रहेका एमालेकाे भातृ संगठन प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य ढल्केबरका स्थायीनिवासी सन्ताेष बराइलीले भने, 'ढल्केबरकाे महेन्द्र माविकाे ९९ बिघा त जग्गा छ, बसीखाेला छेउमा रहेकाे राजमार्ग टच स्कुलकाे चार बिगाहा जग्गा ट्रमा सेन्टर बनाउन दिए भैगयाे।'

 साथै बराइलीले ट्रमा सेन्टर ढल्केबरमा बन्न नदिनु मधेशी समुदायमाथिकाे दूराग्रह भएकाे पनि बताए।

लालगडमा पहाडी समुदायकाे बाहुल्यता र ढल्केबरमा मधेशी समुदायकाे बाहुल्यता छ।

धनुषामै ट्रमा सेन्टर बनाउन माग गर्दै प्रदर्शन

धनुषामै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै "ट्रमा सेन्टर बचाउ संयुक्त संषर्घ समिति"ले ढल्केवरमा आज प्रदर्शन गरेकाे छ।

प्रदर्शनकारीले 'पूर्व निर्धारित स्थानमा ट्रमा सेन्टर निर्माण गर', 'ट्रमा सेन्टर अन्यत्र सार्न पाइँदैन', 'विकास विरोधी मेयर, मुर्दावाद' जस्ता नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

ढल्केवरस्थित कृषि बजारबाट निस्किएको विरोध जुलुस नगर परिक्रमा गर्दै मिथिला नगरपालिकाको कार्यापालिकासम्म पुगेर टुँगिएकाे थियाे। साथै प्रदर्शनकारीले नगर प्रमुख हरिनारायण महतोलाई ज्ञापन पत्रसमेत बुझाएकाे छ।

पत्रमा लेखिएकाे छ, " कुनै पनि शर्तमा ट्रमा सेन्टर पूर्व निर्धारित स्थान तथा साविकको ढल्केवरमै निर्माण हुनुपर्ने, नत्र आन्दाेलन राेकिने छैन्।'

संषर्घ समितिका संयोजक बुधेश्वर महतो र चन्देश्वर महतोले ज्ञापनपत्र बुझाएका हुन्। बुधेश्वर नेपाली कांग्रेस र चन्देश्वर उपेन्द्र यादवनिकट जसपाका नेता हुन्।

मेयर महताेले यसैलाई ट्रमा सेन्टरकाे नाममा राजनीति गर्न खाेजेकाे आराेपसमेत लगाएका छन्।

ज्ञापन पत्र ब‍ुझ्दै मेयर महतोले आफ्नो पनि इच्छा ट्रमा सेन्टर ढल्केवरमै बनोस भन्ने रहेको बताउँदै प्राविधिक कारणले यसै नगरपालिकाको लालगढमा सिफारिस गरिएको भए पनि आवश्यक पर्ने जग्गा उपलब्ध भए यहीँ बन्ने बताए।

ढल्केवरबासीको लामाे समयकाे अथक प्रयासपछि यस पटक नेपाल सरकारले ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरेकाे थियाे। तर नगरपालिकाका मेयर महतोले अयन्त्र सार्न लागेकोले स्थानीयबासीको भेलाले बुधेश्वर महतो र चन्देश्वर महतोको संयोजकत्वमा ५१ जनाको स्वतन्त्र संघर्ष समिति गठन गरेको हाे।

संयोजक मध्येका बुधेश्वर महतोले कुनै पनि हालतमा ट्रमा सेन्टर अन्यत्र सार्न नदिने बताए। यहाँका मेयर हरिनारायण महतोले आफ्नो स्वार्थपुर्तिका लागि अन्यत्र सार्न लागेको आरोप लगाउँदै स्थानीयबासीले नौ वर्षदेखि गर्दै आएको संषर्घबाट ढल्केवरलाई नै तोकेर नेपाल सरकारले बजेट समेत विनियोजन गरिसकेको अवस्थामा मेयरले अन्यत्र सार्ने चलखेलमा लागेको बताए।

'पूर्व निर्धारित स्थानमै ट्रमा सेन्टर निर्माणको माग गर्दै विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाएका हौ, हाम्रो मागलाई वेवास्ता गरिए वा कार्यान्वयन नभएमा शसक्त आन्दोलन गर्छाैं', बुधेश्वरले भने।

उनले दर्ता पक्रियाकै बेला तोकिएको स्थानमा साविकको ढल्केवर नमुना गाविस वडा नम्बर २ र हालको मिथिला नगरपालिका वडा नम्बर ७ मा ट्रमा सेन्टर निर्माण हुनुपर्ने बताए। त्यहाँ सम्भव नभए ढल्केवरमै विकल्पको ठाउँ खोज्नुपर्ने उनकाे दावी छ।

यस्तै अर्का संयोजक चन्देश्वरले ट्रमा सेन्टर अन्यत्र सार्ने भूमिकामा यहाँका मेयर महतो नै लागेको आरोप लगाउँदै यस्तो संक्रमणकालमा पनि प्रदर्शन गर्न बाध्य भएको बताए। 

बजेट विनियोजनपछि यहाँका स्थानीयबासीमा वर्षौदेखिको सपना पूरा भएको भन्दै खुशियाली साट्न थालेका थिए। तर यसबीचमै ट्रमा सेन्टर लालगढ सार्न लागेको खबर बाहिरिएपछि स्थानीयबासी मेयर महतोप्रति आक्राेशित बनेका छन्।

यद्यपि मेयर महतोले कार्यपालिकाको निर्णयबाट लालगढमा ठाउँ छनौट गरिएको भए पनि निश्चित भइनसकेको प्रतिकृया दिएका छन्।

प्रकाशित मिति: : 2021-06-22 19:57:00

प्रतिकृया दिनुहोस्