ऊ! आयो त्यो फेरि धुलोको बवण्डर। त्यो डरलाग्दो हावाको ‘र्वाही र्वाही’ गर्ने आवाज।
लौन कहाँ भागूँ म। कता लुकूँ। यो विशाल मरभूमिमा? दिनहुँको डर र त्रासबाट कतिञ्जेल डराएर बस्नु? यसको पनि त सीमा होला नि?
यसो भन्दै शिवानी निन्द्रामा बडबडाई रही।
सपनामा शिवानी कहिल्यै पाइला नटेकेको ठाउँ पुग्थी। कहिले देवस्थल, जहाँ उ भगवान भगवतीको परिक्रमा गर्थी त कहिले बाल्यकालको पुरानो घर अगाडी आफूलाई पाउँथी। आफूले खेले कूदेका आँगन र ठूलो चौर अनि विद्यालयका साथी तथा शिक्षक पनि देख्ने गर्थी।
‘सुत्केरी हुँदा यस्ता डरलाग्दा सपना देखिन्छ छोरी। सिरानीमुनि एक मुठी ल्वाङ र डसनामुनि धारिलो चक्कु राख्’, आमाले फोनमा उसलाई सम्झाउनु भएको थियो। जे उपाय गरे पनि आखिर सधै भयानक सपना देख्नु शिवानीको नियति नै बनिसकेको थियो।
पेशाले शिक्षिका हुन्, शिवानी। विधार्थी माझ निकै प्रिय। विधालयमा बित्ने समय उसको लागि अमूल्य थियो। खासमा घर नै जान मन गर्दिन्थी। बच्चाबच्ची औंधी मनपराउने उ एकदिन आफै बच्चीकी आमा बन्न पुगी।
छोरी जन्माउनु अघिल्लो दिनसम्म विधालय गएकी थिइ। सुत्केरी बिदा पाएर घरमा बस्दा पनि शिवानी र उसकी छोरीलाई हेर्न प्रायः विधार्थी आइरहन्थे।
भर्खर महिना दिनकी सुत्केरी शिवानी शारीरिक रूपले कमजोर त थी नै, यसमा पनि छोरी पाएको निहूँमा घर परिवारले दिने मानसिक यातनाले उसलाई सिथिल बनाएको थियो।
उसको दिनभरीको समय प्राणप्यारी, गुलाबी आभा भएकी, उसले केटाकेटी छँदा खेल्ने सुन्दर पुतली झैं रूप भएकी छोरीको स्याहार सुसार गर्दै बित्थ्यो। छोरीको मुहार हेरेर सारा दुःख बिर्सने कोशिशमा हुन्थि उ। अपरेशन गरेको उसको पेट अझै चर्हाइरहेकै थियो।
‘छोरीलाई धेरै पढाउछु। उसकी प्रिय साथी बन्छु। उ पनि मेरो प्रिय साथी बन्छे। म उसको भावना, उसको इच्छाको कदर गर्नेछु। मेरी छोरीले काहिल्यै कसैको अगाडी म जस्तो लत्रिनु पर्नेछैन। उ तेजिलो झलझलाकार हीरा झैं चमकिने छे’, यस्तै यस्तै कुरा मनमा खेलाइरहने शिवानी सानी छोरीको सुनौंलो केश चिटिक्क पारेर कोरी रहन्थी। छोरीको मुस्कान देखेपछि उ भन्ने गर्थी, ‘मेरी कोहिनूर, प्यारी कोहिनूर’।
साँझ छिपिदै थियो। शिवानीलाई फेरि रातीको सपना याद आयो। उसले अठोट गरी, अब डराएर भागदिन। जे पर्ला पर्ला।
नभन्दै बेलुका भयो। राती छोरीलाई छातीमा टाँसेरा सुत्नुको साटो उ आफै छोरीको जीउमा टाउको लुकाएर सुत्ने प्रयास गरिरहेकी थिइ। त्यो दूधे बालिका उसको सर्वश्व थिइ।
शिवानीको लोग्ने ६ महिनादेखि परदेशमा थिए। कहिले काहिँ घरको फोनमा कुरो हुन्थ्यो। त्यो पनि जेठानीले आफ्नो कोठामा राखेको अर्कों टेलीफोन सेटबाट सुन्ने गरेकी थिइरे। यो कुरा घरको काम गर्ने दिपेले सुनाएकी थिइ।
‘डिसोशिएटिभ आइडेन्टिटी डिसअर्डर’ बाट ग्रसित जेठानी भनाउँदीबाट के गतिलो व्यवहारको आश गर्नु? उसका अनौंठा गतिविधि र बोली व्यवहारले घरमा रातबिरात धामीझांक्रीदेखि साइकाट्रिस्टलाई उपचारका लागि बोलाउनु पथ्र्यो।
शिवानी विदेशमा भएको आफ्नो लोग्नेको उमा नाम गरेकी ‘एयर होस्टेज’ सँग नाजायज सम्बन्धमा छ भन्ने गाईंगुईं हल्ला सुनेदेखि झन् बढी दुःखी थिइ। आँशुले तकिया नभिजेको रात हुँदैन थियो। बल्ल बल्ल निन्द्रा लाग्थ्यो, त्यसपछि उही डरलाग्दो सपना।
आज राती पनि भयो त्यस्तै। शिवानीले आफूलाई मरुभूमिमा पाइ, नितान्त एक्लो। उ त्यहाँ प्यासले व्याकूल थिइ।अचानक कतैबाट धूलोको ठूलो बवण्डर आयो ‘र्वाही र्वाही’ आवाज गर्दै। शिवानी आज अर्कै सोचमा थिइ। उसलाई थाहा थियो, क्षणभरमा अब कसैले उसलाई तर्साउने छ। उसले सदा झैं डराएर भाग्नुपर्ने छ। तर निन्द्रामा भए पनि आज उ केही चनाखो थिइ।
नभन्दै, एउटा डरलाग्दो प्रेतको छाँया उसको ठिक पछाडि उभियो। अरुबेला यस्तो हुँदा उसको सातो जान्थ्यो डरले। उ सपनामै लगलग काँप्थी। तर आज निडर भएर डरको सामना गर्न तयार भएकी थिइ। त्यसैले, उसले फरक्क पछाडि फर्किएर हेरी।
अचम्म के भयो भने– त्यो डरलाग्दो प्रेत आफै पछाडि फर्कियो। त्यो देखेर शिवानीको मनोबल बढ्यो र त्यसलाई समात्न आफ्नो हात लम्काइ तर त्यो तुरन्तै भागेकोले उसले समात्न सकिन।
शिवानीलाई रिस उठ्यो, उसलाई त्यसको अनुहार हेर्न औंधी मन लाग्यो। त्यही भएर उसले तीब्रगतिमा लखेटी। निक्कै दौडादौडीपछि शिवानी सफल भइ र सपनामा प्रायः देख्ने तर वास्तविकतामा कहिल्यै अगाडी नआएको, भगवान भगवतीको सुन्दर मन्दिरतर्फ हिँडेको प्रेतलाई घिच्याउन थाली। मन्दिरमा पुगेपछि उसले जबरजस्ती त्यसको अनुहार भगवानको मूर्तितर्फ फर्काइ दिइ।
यसोगर्दा त्यो प्रेतको मुखमा आगो बल्यो र पूरै भस्म भयो। तर त्यसको ठिक अगाडी त्यो प्रेतको अनेक भावभंगीमा देखिन थाल्यो। यसैबीच त्यो अनुहार पनि शिवानीले हेर्ने अवसर पाइ, जुन अनुहार उसको कल्पनाभन्दा बाहिर थियो। त्यहाँ उसले आफ्नी सासुको दिदी पर्नेको अनुहारदेखि, जो बेलाबेलामा त्यस घरमा दुखेसो पोख्न आउने गर्थिन्
ओहो! ठूली मुवा। मलाई किन सताइबक्स्यो? म त हजुरलाई माया गर्थे नि। के बिगार गरेकी थिए, मैले हजुरको?
यसको उत्तर शिवानीले कहिल्यै पाइन तर त्यो उपरान्त डरलाग्दो सपना पनि दोहर्याएर देखिन।
अचेल सुनिन्छ, शिवानी पनि छोरीलाई लिएर विदेशीएकी छे रे।