जात लुकाएर बस्नुपर्ने यो कस्तो समाज ? यो कस्तो युग ?

संविधान र कानुनले प्रस्ट रूपमा दण्डनीय भनेको सामाजिक अपराधविरुद्ध न्यायिक बाटो रोज्न कसले छेकिरहेको छ ?

नयाँ पत्रिका दैनिक

प्रकाश धौलाकोटी

लमजुङको गुरुङ गाउँमा जन्मेकी रूपा सुनार (२४) ले थाहा पाउँदा थरीथरीको विभेद थियो, दलितहरूमाथि। तर, उनले अन्याय सहनुपर्छ भनेर कहिल्यै सिकिनन्। उनी नौ वर्षको हुँदा परिवारै तनहुँ सरे। उमेरअनुसार पढाइ निरन्तर थियो, सुझबुझ, अनुभव र ज्ञान पनि। माध्यमिक शिक्षा लिएपछि उनी राम्रो अध्ययन र रोजगारीका लागि काठमाडौं आइन्, ०७२ सालमा। 

अहिले पत्रकारिता पढ्दै छिन्। उनी राम्रो कलाकारसमेत हुन्। अनि जात व्यवस्थाविरुद्ध बोल्ने एउटा योद्धा पनि। उनले एक वर्षदेखि बागमती प्रदेशमा जात व्यवस्था उन्मूलन मोर्चाको नेतृत्व सम्हालेकी छिन्, यसबीचमा कहिले आमाको नाउँमा नागरिकता देऊ भनेर, त कहिले बलात्कारीलाई कारबाहीको माग गरेर। रुकुम घटनादेखि मधेसमा दलित हत्या र बलात्कारपछि हत्याका घटनाको विरोधसम्म। 

अहिले जात व्यवस्था उन्मूलन मोर्चाले देशभरि जातीय विभेद गर्ने मान्छेहरूको सूची तयार गर्दै छ, त्यसमा रूपा पनि खटिएकी छिन्। तर, दुर्गममा कहाँ–कहाँ कसले विभेद गरिरहेको छ भन्ने सूची बनाउन लागेकी रूपा, आफैँै जातीय विभेदको सिकार बनेकी छिन्। उनलाई कोठा चाहिएको थियो। १ असारमा त्यही सिलसिलामा बबरमहलको एउटा घरमा पुगिन्। त्यो घर सरस्वती प्रधानको रहेछ। चाहेका जस्तै कोठा र सुविधा। ‘धेरै हल्ला गर्न पाइँदैन है, अबेला आउने र धेरै साथी ल्याउने नगर्नू,’ घरधनी सरस्वतीले रूपालाई पिठ्यूँमा धाप मार्दै भनेकी थिइन्, ‘तिमी त आफ्नै छोरीजस्तै लाग्यो। एउटै घरको मान्छेजस्तो भएर बस्नुपर्छ है।’ रूपा पनि खुसी थिइन्। 

तब, कुरा उठ्यो ‘थर’ को। तिमी के थरी हौ ? घरबेटीले प्रश्न तेस्र्याएकी थिइन्। ‘म त कामीको छोरी हुँ,’ रूपाले जति सहजै कामी हुँ भनेकी थिइन्, घरधनी सरस्वतीलाई भने उति नै मुस्किल प¥यो। उनीहरूले एकअर्काका अनुहार पढे। सरस्वती केहीबेर त अकमकिइन्। ‘तिम्रो मोबाइल नम्बर दिएर जाऊ, म सल्लाह गरेर फोन गर्छु,’ उनले कुरा फेरिन्। 

रूपालाई छाँगाबाट खसेजस्तै भयो। चित्त दुख्यो। तैपनि घरधनी आन्टीको फोन पर्खिनु थियो। करिब एक घन्टापछि साथीमार्फत रूपालाई थाहा भयो, सरस्वतीले कोठा नदिने नै भइन्। र, मुख्यकारण जात नै थियो। त्यसपछि रूपा आफैँले घरधनीलाई फोन गरिन् र सोधिन्। ‘भन्न पनि अप्ठ्यारो भयो। अहिले घरमा बूढीआमा हुनुहुन्छ। पूजाआजा गर्नुपर्छ। तिमीलाई कोठा दिन मिल्दैन। बरु अरू कोही भए पठाइदेऊ न है,’ घरधनी सरस्वतीले फोनमा भनिन्। त्यसपछि त रूपालाई सहिनसक्नु पीडा भयो। ‘म यतिका वर्षदेखि यो सहरमा छु, मैले सुरुमै म पत्रकार हुँ, टेलिभिजनमा काम गर्छु भनेर परिचय दिएकी छु, अन्याय सहनुहुन्न भनेर अरूलाई सिकाउँदै हिँडेकी छु,’ उनी भन्छिन्, ‘तर मैमाथि यहाँ, राजधानीमै यस्तो विभेद होला भनेर कहिल्यै सोचेकी थिइनँ, अनि कसरी चुप लागेर बसुँ ?’

प्रकाशित मिति: : 2021-06-19 13:06:00

प्रतिकृया दिनुहोस्