मध्यमवर्गीय परिवार, गाउँले परिवेशमा जन्म भएको एक पात्र हो हर्के । पढाइमा सानैदेखि मेहनती, असल, लज्जालु साथै झट्ट रिसाउने स्वभावको । आज, भोलि, पर्सि गर्दै समयको लहरसँगै गाउँको एक स्कुलबाट राम्रो नतिजाको साथमा एसएलसी पास भयो ।
एसएलसी पास भएसँगै स्कुले जीवनलाई बिदा गर्दै गाउँघरलाई छोडी शहरको राम्रो क्याम्पस र राम्रो विषय पढ्न त सपना मात्रै थियो । खुसीको साथ सँगै हर्केको मनमा ज्वालामुखीरुपी आगो लागिरहेको थियो । किनकि, थपिँदै गएको काँधको जिम्मेवारी, अनि बाबुआमालाई एक्लै छोडी शहर पस्नुपर्ने बाध्यता । उसलाई शहर बस्नुबाहेक कुनै विकल्प थिएन । या त पढाइ नै बिट मार्नुपर्ने बाध्यता थियो ।
समय बित्दै जाँदा भोलि हर्के सहर जाने दिन पनि आयो । रातमा आमाले हर्केको झोलामा खानेकुराका प्लाष्टिकका कुटुराहरु मिलाइन् । साथमा बाबुले हर्केलाई सहरको परिवेश, साथीभाइको संगत र पढाइको महत्वका विषयमा सम्झाए ।
भोलि बिहानको उज्यालो नभइदिए हुन्थ्यो भन्ने कल्पना गर्दै हर्के खाटमा पल्टियो । उसलाई त्यो रात जिन्दगीको कठोर घडीजस्तै भयो ।
आमाले खाटमा छट्पटिएको हर्केलाई बिहान सबेरै उठ् बाबु भन्द कराउन सुरु गर्नुभयो । ऊ शहरका लागि हिँड्यो ।
शहरमा धेरै घरहरु । झिलिमिली बत्ति । गाडीका लाइन । यी दृश्यले शुरुमा केही आनन्द त दियो । तर, मन भने गाउँमै थियो ।
जसरी सहरका घरहरु जोडिएका हुन्छन्, मानिसको त कुरै नगरौँ । कति निर्दयी, कति कठोर, कति निष्ठुुरी । कसलाई सुनाउनु मनका भावना ?