महाव्याधिबीच बाढीको विध्वंस

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, बाजुरा र गोरखामा बाढीले १० जना बेपत्ता बनाएको छ । मनाङमा मात्रै बाढीपहिरोबाट दुई सय परिवारका एक हजार बासिन्दा विस्थापित भएका छन्, ५५ घर डुबानमा परेका छन् । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार मंगलबार साँझ मेलम्ची खोलामा आएको बाढीले किनारका घरहरू बगाउँदा कम्तीमा सातजना बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रआसपासका स्थानीयलाई बाढीले बगाएकोे उनले बताए । 

मेलम्ची घ्याङमाथि नाम्साङसाङ क्षेत्रमा गएको ठूलो पहिरोले मुहान थुनेपछि मेलम्ची खोलामा बाढी आएको हो । बाढीले हेलम्बु– १ को तिम्बुस्थित खोला किनारका केही घर बगाएको अध्यक्ष शेर्पाले बताए । वर्षा निरन्तर भएकाले खोला बढिरहेको र उद्धार गर्न कठिन भएको उनले बताए । ‘कति बेपत्ता भएका छन् अझै यकिन भइसकेको छैन । कम्तीमा सातजना आएका छैनन्,’ उनले भने । राति अबेरसम्म प्रहरी र स्थानीयले खोला किनारआसपासका मानिसलाई उद्धार गरिरहेको उनले बताए । 

बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथाङनजिक नाकोतेमा बनेको नवनिर्मित मोटरेबल पुल पनि बाढीले बगाएको छ । त्यस्तै, वडा नम्बर २, ३ र ४ मा रहेका आठवटा ट्राउट माछा फार्म पनि बगाएको छ । 

मेलम्ची आयोजनामा काम गर्ने कर्मचारी र मजदुर तिम्बुदेखि अम्बाथाङसम्म ठाउँठाउँमा छन् । मुहान क्षेत्रभन्दा माथिबाट पुलसमेत बगाएर ल्याएकाले आयोजनाका कर्मचारी र मजदुरको अवस्था खतरामा परेको अध्यक्ष शेर्पाले बताए । 

खोला किनारमा रहेको क्युल र चनौटे बजारमा बाढी पसेको छ । तटीय क्षेत्रका स्थानीय राति नै सुरक्षित स्थानतर्फ भागेका छन् । त्यसैगरी यांग्रीलार्के खोलाबाट आएको पहिरो र बाढीले पाँचपोखरी–थांपाल गाउँपालिकाको तिपेनीस्थित इन्द्रावती जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

बाजुराको बड्डीगाड खोलामा सोमबार आएको बाढीले बुढीनन्दा नगरपालिका– ३ वड्डालाकी मोतीकला लुहार र किमनी खोलाको बाढीले त्रिवेणी नगरपालिका– ३ का १२ वर्षीय कमल बुढालाई बेपत्ता बनाएको छ । त्यस्तै, गोरखाको ठोट्नी खोलामा आएको बाढीमा आरुघाट गाउँपालिका– २ ढोडेनी घर भएका गोविन्द चौधरी बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: : 2021-06-16 06:39:00

प्रतिकृया दिनुहोस्