रक्तदान कार्यक्रममा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ नगरौँ : विज्ञ

सोनी शाही

 

कोरोना संक्रमण फैलिएसँगै सतर्कताका लागि अन्य कार्यक्रमजस्तै रक्तदान पनि बन्द गरिएको थियो। तर, सोमबार विश्व रक्तदाता दिवसको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएका छन्।

उक्त कार्यक्रममा सहभागी हुँदै धेरै मानिसले रक्तदान गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने सम्भावना रहेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। अहिलेसम्म रगतकै माध्यमबाट कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कुराको पुष्टि कुनै अध्ययनबाट नभए पनि केही व्यक्तिमा कोरोना सर्नसक्ने सम्भावना रहेको उनले बताए।

रक्तदाताले मास्क नलगाई कार्यक्रममा सहभागी हुने, भौतिक दूरि कायम नगर्ने र कार्यक्रमस्थलमा अत्यधिक भीडभाड रहने गरेको देखिन्छ । सोही कारण कोरोना प्रसार रोकथामका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई रक्तदान कार्यक्रमहरूमा पनि कडाइका साथ पालना गर्नुपर्ने डा. पुनको सुझाव छ।

तथापि, रक्तदानमा सहभागी हुनुअघि पीसीआर या एन्टिजेन परीक्षणबाट कोभिड-१९ पजिटिभ भए-नभएको यकिन गर्न आवश्यक छ कि छैन ? डा. पुनका अनुसार अहिलेसम्म रक्तदान गरेकै कारण कोरोना सरेको वा आउट ब्रेक भएको भन्ने कुनै केस देखिएको छैन। ‘तर, अपवादको रूपमा केही मानिसमा सर्नसक्ने सम्भावना रहन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-06-14 15:53:00

प्रतिकृया दिनुहोस्