स्थानीयकाे दबाबमा पछि हटे ज्ञानेन्द्र शाही

समाजिक अभियान्ता ज्ञानेन्द्र शाहीविरुद्ध सुर्खेतमा गाउँलेहरु नै सडकमा उत्रिएपछि अभियान्ता ज्ञानेन्द्र शाही अन्ततः पछि हटेका छन्।

वीरेन्द्रनगर–१३ करेखोलामा शुक्रबार राती भएको दुवै पक्षको झडपमा मजदुरी गरेर खाने स्थानीय युवालाई थुनाएको भन्दै गाउँलेहरु सडकमा उत्रिएका हुन। करेखोलाका स्थानीय नागरिकहरु जिल्ला प्रहरी कार्यालय सुर्खेत अघि आएर धर्ना बसेर अभियान्ता शाहीविरुद्ध नारावाजी गरे।

'शाहीको टोलीले नै मदिरा सेवन गरेर गाउँका युवाहरुलाई हानेको र प्रतिकारमा दुवै पक्षविच हानाहन भएको हो,' घटनाबारे सुनाउँदै स्थानीय मिना सलामीले प्रश्न गरिन, 'ज्याला मजदुरी गरेर खाने आफ्ना आफन्तलाई सामाजिक अभियान चलाउने व्यक्ति आफैले गाली गर्ने र हान्ने अनि आफै थुनाउनु कस्तो न्याय हो?'

मिनाका अनुसार नेवारेमा घर निर्माणका काम गर्ने युवाहरु फर्किरहेका बेला सलामी टोलमा झडप भएको थियाे। शाहीको टोलीले स्थानीय नवराजलाई हानेपछि प्रतिकार गर्दा घटना भएको बताउँदै मिनाले भनिन्, 'चिल्ला गाडीमा हिड्नेले मजदुरी गरेर परिवार पाल्नेको समस्या बुझेनन्। अनावश्यक भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर केपीको भरौटे भन्नु अभियान्ताको काम हो? अब हाम्रा बालबच्चा कस्ले पाल्छ?'

प्रहरीकाे थुनामा रहेकाका आफन्तले अभियान्ता शाहीले आफ्ना व्यक्तिलाई नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिएपछि अभियान्ता शाही पछि हटेका हुन्। 

'राजनीति नै नगर्ने व्यक्ति कसरी सरकारका भरौटे भए?' मिनाले थपिन्, 'राहत दिने व्यक्तिले नै पीडित बनाउँदा अब न्याय माग्न हामी कहाँ जाऔं?'

अभियान्ता शाही र स्थानीयबीच दाेहाेराे झडप भएपछि प्रहरीले स्थानीय पाँच जना युवालाई पक्राउ गरेकाे थियाे। घटनाको प्रकृति हेर्दा मुख्य कारण मदिरा नै देखिएको प्रहरीले बताएकाे छ।

मजदुरहरु पक्राउ परेपछि गाउँहरुले नै सडकमा उत्रिएपछि अभियान्ता शाही वार्ताको लागि राजी भएका हुन्। घटनामा अभियान्ता शाहीको टोलीले होहल्ला गरेपछि स्थानीय युवाबीच झडप भएको स्थानीयले दावी गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रदर्शन गरे।

प्रहरी कार्यालयमा भएको दुवै पक्षमा छलफलमा दुवै पक्षले गल्ती स्वीकार गरेपछि मिलापत्रबाट विवाद साम्य भएको हो। प्रहरीको रोहवरमा भएको वार्तामा दुबै पक्ष सकरात्मक देखिएपछि मिलापत्र भएको प्रहरी स्रोतले जनाएको छ।

'लिखित रुपमै प्रहरी समक्ष अभियान्ता शाही र स्थानीय युवाको टोलीबिच सहमति भयो,' मिनाले भनिन्,'अभियान्ता शाहीले नियतले स्थानीय युवाहरुले आक्रमण नगरेको र गल्ती दुवै पक्षले गरेकाे स्वीकारेपछि प्रहरीले हाम्रा आफन्तलाई रिहाइ गरेको छ।'

प्रकाशित मिति: : 2021-06-13 18:44:00

प्रतिकृया दिनुहोस्