आयआर्जन वृद्धि गर्न पाठी उपहार

File photo
File photo

दिलकुमार लिम्बु
पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको पाठी उपहार दिन शुरुआत गरेको छ। महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो  कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। 

महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको  गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए। 

विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए। 

गाउँपालिको प्रत्येक वडामा दशजना विपन्न महिलालाई  पाठी खरीद गर्नका लागि छ हजारका दरले ६० हजार र  प्रत्येक वडामा बीउ बोका खरीद गर्न लागि रु १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ। 

गाउँपालिकामा आठ वडा रहेको छ। प्रत्येक वडामा दश वडा  बाठी र बीउ बोका  गरी ८० बाठी र आठ  बोका वितरण हुने पशु शाखाले जनाएको छ। 

महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताइन्। 

महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला  लक्षित कार्यक्रमलाई  निरन्तरता दिँदै आएको उनले जानकारी दिइन्। 

गाउँपालिकाभित्रका  ३७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ। उनले भनिन्, 'महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म  निर्वाचित भएसँगै लागिपरेको छु।'

समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताइन्। विपन्न परिवार तथा लक्षित महिलालाई  प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उनले बताइन्।

अघिल्लो आवमा ३०० महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो। भने चालु आवमा ३७० महिलालाई पाठी उपलब्ध गराइएको थियो। 

महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा  चालु आवमा गाउँपालिकाले रु २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। आगामी आवको बजेटमा  पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताइन्। रासस 

प्रकाशित मिति: : 2021-06-13 13:12:00

प्रतिकृया दिनुहोस्