काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा, महानगरीय परिसरका प्रहरी नै भूकम्पमा आएका पालमुनि

टेकराज थामी

काठमाडौं

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला चौरमा टेन्ट टाँगेर बसेको छ । भ्रदकालीमा निर्माणाधीन भवन अहिलेसम्म ३० प्रतिशत मात्रै पूरा भएको छ ।

वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी ? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेला चीन सरकारले राहतमा टेन्ट दिएको थियो, त्यही टेन्टको भरमा छ महागरीय प्रहरी कार्यालय टेकु । महानगरीय प्रहरीको मुख्य कार्यालय नै यही हालतमा छ भने अन्य प्रहरी कार्यालयको हालत के होला ? हो राजधानीकै ७५ प्रहरी पोस्ट टेन्ट र जस्ताको टहरामा छन् । 

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि भवनविहीन छ । अहिले टेकुस्थित नेसनल ट्रेडिङ भएकै परिसरमा शरणमा छ । प्रहरी परिसरको आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा भने खुला चौरमा टेन्ट टाँगेर बसेको छ । डम्पिङसाइटछेउबाटै बग्ने ढल उर्लिएर प्रहरीलाई तर्साउँछ । 

‘प्लास्टिकको झुत्रा, मलमूत्र र कालो लेदोले जब नाली भरिन्छ, तब मानव मलमूत्रसहितको भेल टेन्टभित्र पनि पस्छ । ढल परिसरको प्रतीक्षालय हुँदै क्यान्टिनसम्म पुग्छ । त्यसपछि परिसर कार्यालयमा आवागमन नै प्रभावित बन्न पुग्छ । यस्तो वेला दुर्गन्धित ढल रोक्न परिसरमा कार्यालय प्रहरी कर्मचारीले निकै कष्ट झेल्नुपर्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेत भन्छन् । 

खासमा परिसर कार्यालयबाट बीच भाग हुँदै ढल बग्ने भएकाले समस्या भएको बस्नेतको भनाइ छ । ‘परिसरको बीचबाट नै ढल बगिरहेको छ । ठूलो पानी पर्दा ढल स्वतः ठूलो हुन्छ । अझ विष्णुमतीतर्फ जाने ढल कार्यालयतर्फ पो आउँछ । ढल भित्र आएपछि दुर्गन्धले बसिनसक्नु हुन्छ,’ उनी भन्छन् । 

परिसर कार्यालयको पछिल्लो भागमा छ, थुनुवा कक्ष । ढल बढेर कहिले त थुनुवा कक्ष जाने बाटो नै रोकिन पुग्छ । यस्तो वेला थुनुवाको सुरक्षा कसरी गर्ने ? ‘ढल बढेर कहिले त माथिसम्म आउँछ, जति छेक्दा पनि सकिन्न । यस्तो वेला थुनुवा कक्षको सुरक्षा गर्न निकै मुस्किल पर्छ । यही मौकामा थुनुवा भाग्यो या कसैले थुनुवामाथि केही गर्‍यो भने के होला ?’ थुनुवा कक्षमा भेटिएका एक हवल्दार प्रतिप्रश्न गर्छन् । 

परिसर कार्यालय बीच भएर बग्ने ढलले प्रहरीलाई मात्र होइन, जब कोही सर्वसाधारण विभिन्न कामले पुग्छन्, त्यसवेला उनीहरूले पनि दुर्गन्ध सामना गर्नुपर्छ । ‘वैदेशिक रोजगारीमा आफन्त ठगिए, त्यसैले जाहेरी दिन टेकु आएको । प्रहरी कार्यालय छिर्न पाएको छैन, ढल गन्हाउन थाल्यो,’ परिसरको कार्यालयप्रति व्यंग्य गर्दै जडीबुटीका गोपाल राउतले भने, ‘महानगरीय प्रहरीको सेवा लिन अन्तर्राष्ट्रियस्तरका सेवाग्राही पनि आउँछन् । तर, यही ठाउँमा ढल गन्हाउँछ । यस्तो अवस्था हेर्दा नेपाल प्रहरीप्रति हेर्ने दृष्टिकोण उनीहरूको कस्तो हेला ? अवस्था सोचनीय लग्छ ।’

प्रकाशित मिति: : 2021-06-13 06:51:00

प्रतिकृया दिनुहोस्