छर्लङ्ग छ- ब्वाँसै हो। ब्वाँसोलाई ब्वाँसो भन्न के–को आनाकानी? तर धेरैजसो मान्छेहरु 'ताक परे तिवारी नत्र गोतामे' हुने गर्छन्। छिमेकी देशहरु प्रायः सबै नै त्यस्तै छन्।
चीन त चीन नै भैहाल्यो। उसले स्वार्थका लागि आफ्नै बाबु-आमा मार्न पनि हिचकिचाउँदैन। र, कुनै क्रूर व्यभिचारी, हत्यारासित हातेमालो गर्न पछि समेत पर्दैन। यो त चीनको नीति नै हो भने पनि हुन्छ। करिबन् सत्तरी वर्षको लामो इतिहासबाट म्यान्माली जनताले यही अनुभव गरेका छौं।
रसिया पनि उस्तै–उस्तै हो। हतियार किनिदिने हाे भने चोर–डाका नै किन नहोस्, त्यो उसकाे परम् मित्र हुन्छ। छिमेकी नभए पनि रसियाले संयुक्त राष्ट्रसंघमा 'भिटो' चलाई धेरै पटक हाम्रा घाउहरुमा नुन-चुक छर्किदिएको छ।
आसियान नाउँको समुदाय पनि चीन कै इशारामा नाच्ने यौटा कठपुतली हो भन्दा अत्युक्ति नहोला। यसकाे उत्पत्तिकालदेखि आजसम्मका हरेक क्रियाकलापबाट यही नै अनुभव गरेका छौं। अहिले पनि विश्वसमुदायबाट म्यान्मारलाई हतियार बिक्री–वितरण नगर्ने सहमति गराई प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासलाई विरोध गर्दै आसियानले विरोध पत्र चढाएको छ।
सन् १९६२ देखि सन् १९८८ सम्म म्यान्माली जनताजे जति कष्टपूर्ण आपत भोग्यौं, ती भोगेका थिचोमिचो, अन्याय र अत्याचारहरू बयानगरी साध्य छैनन्। आततायी समर्थक छिमेकी कमाएका नाताले भोग्यौं।
अरु त अरु विश्वकाे सबैभन्दा ठूलो प्रजातन्त्रिक देश भारत जस्तो समेत मूख–दर्शक भई बसेको छ।
आपतकालमा सहयोगको सट्टा रमिता हेर्ने यस्तै र यी नै छिमेकीहरूका कारण सन् १९४८ मा विदेशी हस्तक्षेपबाट उन्मुक्त म्यान्मारमा आजसम्म स्वतन्त्रताको स्वाद चाख्न पाएका छैनौं।
आफ्नो स्वार्थ सिद्धिका लागि चीनलाई म्यान्मार सैनिक शासन नै चाहिन्छ। पटमूर्ख सेना नाइकेलाई आफ्नो इशारामा नचाउँन सक्छ। र, देशभित्र सैनिककै मनमौजी चल्छ। म्यान्मारका बहुमूल्य भू–गर्भ र वनस्पतिमा उसैकाे राइँदाइँ हुन्छ।
रसिया पनि लगभग–लगभग सैनिक शासन नै चाहन्छ। उसलाई पनि हतियार बेच्नु छ। यसर्थ उनीहरू सैनिक शासन टिकाउन भरपुर प्रयासरत छन्। यसको अर्को कारण उनीहरू स्वयम् तानाशाही पनि हुन्।
उता धर्तीको उपल्लो छेउका मान्छेहरू म्यान्मालीप्रति सहानुभूति दर्शाउँदै सहाराको हात बाँट्न खोजिरहेका छन्। यता हामीमाथिको हर अन्याय र अत्याचारलाई राम्ररी बुझेको चीन जस्तो क्रूर छिमेकीले प्रत्येकपल्ट 'भिटो' प्रयोग गरी विरोध गरिरहेको छ। र, भन्ने गरेको छ 'यो घर झगडा हो, बाह्य हस्तक्षेप हुनु हुँदैन।' तर हाम्रो घरमा चीनको ठूलो हस्तक्षेप छ। साँचै भन्नुपर्दा सैनिक 'कू' हुनमा चीनको पूरापूरा सहमति छ।
सिंगो एसियामा जापान र दक्षिण कोरियाका अतिरिक्त म्यान्मारप्रति सहानुभूति दर्शाउँने देश प्रायः छैनन्। क्रूर आततायी म्यान्मार सैनिकका कारण सन् १९६२ देखि हामीहरू मानिस भए पनि पशुसरह जीवन यापन गरिरहेका हौं। हामीप्रतिको अन्याय र अत्याचारले सीमा नाघेपछि प्रत्येक जनतामा सहनशीलताको बाँध फुटी सन् १९८८ को विश्व प्रसिद्ध जनआन्दोलन चर्कियो। जसलाई चार आठ (८८८८) आन्दोलन पनि भनिन्छ।
जनआन्दोलनले जननेत्री आङ सान सुकीको पूर्ण सहयोग पायो र विविध यातनापश्चात सफल पनि भयो। चीन र रसियाका कारण वाह्य जगतको सहयोगबाट प्रायः वञ्चितै रह्यौं। थुप्रै जनधनको क्षति पश्तात् म्यान्मारले नाउँ मात्रैको भए पनि प्रजातन्त्र पायाे। नाउँ मात्र भन्नुको तात्पर्य- त्यहाँ तानाशाह लिसो झैं टाँसिए कै थियो। तर, दश वर्ष नबित्दै पुनः सैनिकले 'कू' गरी पूरानै स्थितिमा पुगेका छौं। एक पटक होइन पटकपटक हामी यसरी अन्याय र अत्याचारको सिकार हुन पुगेका छौं।
एक्काईसौं शताब्दीमा भइरहेकाे सैनिक अत्याचारकाे विश्वसमुदायबाट अक्षम्य हुन्छ भन्ने पूर्ण विश्वास छ। र शुरुका दिनहरूमा हामीले वाह्य जगतबाट पूर्ण सहयोगको अपेक्षा राखे कै थियौं। तर, अहिलेसम्म करिबन् तीनसय देश बसेको यो धर्तीमा हामीप्रति सहानुभूति दर्शाउने र तानाशाहविरुद्ध आवाज उठाउने देशहरु औंलामा गनिने मात्र रहेछन्।
किन?
– ८० भन्दा बढी प्रतिशत मतदाताकाे समर्थनले बनेको सरकारलाई बन्दूक तेर्स्याई अपदस्थ गर्नु के न्याय नै हो त?
– जननेत्रीसहित जनताको सिंगो सरकार हतियार कै बलमा थुनामा राख्नु के न्याय नै हो त?
– सैनिक क्रूरताविरूद्ध विरोध जुलुस् उठ्नु अन्याय हो त?
– शान्तिपूर्ण तरिकाले 'कू'को विरोध प्रदर्शन गर्नु अन्याय हो त?
– शान्तिका साथ जनताले माग प्रदर्शन गर्दा शत्रुमाथि जाइलागे झैं रणभूमिमा प्रयोग गरिने हतियार प्रयोगगरी हत्या गर्नु न्याय हो त?
– हज्जारौं निर्दोष जनता पक्राउ गरी थुनामा राख्नु न्याय नै हो त?
– जनताकाे घरघरमा गोली ठोक्नु, आगो झोस्नु,सम्पत्ती लुट्नु यो पनि न्याय नै हो त?
– कुनै निर्दोष नागरिकलाई पक्राउ गरी लिएकाे भोलिपल्ट लाश बुझाउँनु पनि न्याय नै हो त?
– हतियार प्रयोग गरी निहत्था जनता मार्दै हाहाकार मच्चाई शासन हथ्याउँन खोज्नु न्याय नै हो त?
– आजको युगमा आमजनताको विरोध हुँदाहुँदै बन्दूककाे आडमा शासन चलाउँने युग हो त?
किन बोल्दैनौ?
हामीहरू अन्यायलाई अन्याय र अत्याचारलाई अत्याचार भन्न किन सक्दैनौ? हामीमाथिको अन्याय र अत्याचारविरुद्ध तिमी आएर लडिदेऊ– यो हाम्रो माग पटक्कै होइन। हाम्रो माग यत्ति नै हो, तिमी पनि अन्याय र अत्याचारविरुद्ध चर्को आवाज उठाऊ। अन्यायलाई अन्याय र अत्याचारलाई अत्याचार ठोकेरै बोल।
हामीलाई 'विश्व हाम्राे साथ छ' भन्ने हौसला मिल्छ, साहस् बढ्छ र हिम्मत जुट्छ। आतातयीभित्र पनि उसका आतंकको आभास हुनसक्छ। हो, हामी निहत्था छौं। तर जुन स्थितिमा पनि अन्याय र अत्याचारका विरुद्ध डटेरै लडिरहेका छौं। अन्त्यसम्म लडि नै रहनेछौं। अब पुनः हामी कुनै हालतमा पनि तानाशाहीका कमारा हुने छैनौं।
सेतोलाई सेतै र कालोलाई कालै भनिदेऊ, मात्र त्यत्ति।
तिम्राे आवाजको अपेक्षा राखेका छौं। नत्र हामी यहीँ ठान्ने छौं, तिमी पनि आततायीका समर्थक हौँ।