उहिले मेरा पालामा कम्युनिस्ट नेताहरू आफ्ना पार्टीका कार्यकर्ताको निकै नजिक हुन्थे। पार्टी प्रतिबन्धित भएको समयमा म नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएको थिएँ। हामीले चार–पाँच वर्ष त्यो साँघुरो अवस्थामा पार्टीको काम गर्यौँ। त्यो अवधिमा फुकीफुकी पाइला चाल्नुपथ्र्यो। नेताहरू सबै भूमिगत थिएँ तर पार्टी सदस्य र समर्थकलाई प्रायः पोलिटब्युरो सदस्यले पढाउँथे। उच्च नेतासँग समेत भेटघाट र कुराकानी गर्न सहज थियो।
पोलिटब्युरोमा क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. कंमर शाह, क. डा. केशरजंग रायमाझी, क. शैलेन्द्रकुमार उपाध्याय थिए। यही प्रतिबन्धित अवस्थामा पोलिटब्युरो सदस्यमा क. तुलसीलाल अमात्य, क. डिपी अधिकारी पनि पोलिटब्युरो सदस्य थिए। को कता गएर हो वा के के भएर हो नेताहरू बदलिन्थे। हामी सदस्य बुझ्दैनथ्यौँ। तर मैले यी सबै नेतासँग पढेको छु।
यी नेता पार्टीको नीति, सिद्धान्त, दर्शन, रणनीति, कार्यनीति र कार्यक्रमबारे सूक्ष्म तरिकाले पढाउँथे। त्यस अतिरिक्त जग्गाधनी, मोही किसान, पाखुरे मोही (पाखुरे मोही भनेको जग्गाधनीसँग एउटाले जग्गा कमाएको, त्यो जग्गा कमाउने मोहीले अर्को व्यक्तिलाई त्यही जमिन कमाउन दिएको। बीचमा आफूले केही तिरो नाफा लिई जग्गाधनीलाई कुत बुझायो। त्यसो गरेबापत अलिकति नाफा आफूले लियो। बीचमा आफूले केही तिरो नाफा लिई जग्गाधनीलाई कुत बुझायो। त्यसो गरेबापत अलिकति नाफा आफूले लियो।
तर जग्गाधनीलाई योे कुरा थाहा नहुन पनि सक्थ्यो। पाखुरे मोहीले मोहियानी हक पाउँदैनथ्यो) यस्ता सबै कुरा नेताहरूले सविस्तार पढाउँथे। यसका साथै जमिन अनेक नामका हुन्थे। उदाहरणका लागि बिर्ता, कुश बिर्ता, सुनाबिर्ता, रैकर आदि। दान गरेर पाएको कुश बिर्ता, सुन बेचेर किनेको सुनाबिर्ता। रैकर गुठी : गुठीको तिरो पनि चामल। चामल पनि फलुवा, सरुवा। यस्ता कुरा नेताले हामीलाई नबुझुन्जेल पढाउँथे। जमिनको वर्गीकरण अब्बल, दोयम, सिम, चाहार आदि चार प्रकारका हुन्थे। उब्जनीका आधारमा जमिनको वर्गीकरण गरिने रहेछ। यी सबै कुरा सविस्तार पढाउँथे। यी सबै कुरा नबुझी किसानसँग काम गर्न सकिँदैनथ्यो। बारी जमिन भने दुई किसिमको मात्र हुन्थ्यो।