जसरी राईहरूको आफूलाई जाति मान्ने आत्मनिर्णयको अधिकार छ, त्यसैगरी हामी कुलुङले पनि ‘कुलुङ’ लेख्न, लेखाउन र जातीय स्वपहिचानले चिनिन पाउनुपर्छ।
आजभोलि धेरै मान्छे राई भन्ने बित्तिकै नेपालको एक जाति बुझ्छन्। अहिले ‘राई’ जाति भनेर चिनिएका हामी कुलुङहरू यथार्थमा १६ खम्बुका सन्तान हौं। हामीले, खासगरी भूमिसुधार ऐन २०२१ लागू भएपछि, राई पदवी पाएका तालुकदार वा जिम्मावाल जस्तै ‘ठूलो मान्छे’ भइन्छ भन्ने रहर वा बाध्यताले जाति र थर ‘राई’ लेख्न थालेका हौं।
हाम्रै बीच पनि राई जाति हो–होइन भन्ने विवाद छ। कोही जाति मान्नुपर्छ भन्छन् त कोही मान्दैनौं भन्छन्। यसमा १६ खम्बुका सन्तानमध्ये कुलुङ लगायत १४ थरी किराती संस्थागत रूपमा लागेका छन्। राईलाई जाति मान्नुपर्छ भन्ने पक्षको नेतृत्व राई यायोक्खा नामक गैरसरकारी संस्थाका हर्ताकर्ताले गरेका छन्। केही राई लेखक, बुद्धिजीवी, भाषाविद्, मुन्धुमविद् (कुलुङहरू ‘मुन्धुम’ लाई ‘रीदूम’ भन्छन्), संस्कृतिविद्, विज्ञ, प्राज्ञ, अन्वेषक, इतिहासकार, खोजकर्ता, अनुसन्धानकर्ता पनि यसमा लागेका छन्।