जसपामा आधिकारिकताका निम्ति पार्टी कब्जाको होडबाजी

शिलापत्र

काठमाडाैं

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको ८ र ९ को केन्द्रीय कार्यकारिणी बैठक निर्णय थियो- महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने। त्यही निर्णयमा टेकेर ११ जेठमा प्रकाश अधिकारीले यी चार नेतालाई पत्र पठाए। नौवटा बुँदामा ठाकुरलाई स्पष्टीकरण सोधियो। त्यसको काउन्टरमा सातवटा बुँदामा ठाकुरले उल्टै उपेन्द्र यादवलाई स्पष्टीकरण सोधे।

दुई अध्यक्षबीच प्रतिस्पष्टीकरण सोधासोध भएपछि जसपा एक रहने सम्भावना कम छ। विभाजनको सँघारमा पुगेको जसपाको आधिकारिकता कोसँग हुने भन्ने लडाइँ मात्रै बाँकी छ।

अहिले खासमा जसपा कसले कब्जा गर्ने रणनीति र प्रयास मात्रै भइरहेको छ। पार्टी संरचनामा बहुमत पक्ष यादव लाइनमा देखिएका कारण उनको पक्ष बलियो देखिएको छ। संसद्  नभएको अवस्थामा निर्वाचन आयोगले निर्णय लिनुपर्ने अवस्था आए, यादव पक्षलाई आधिकारिकता दिनसक्छ। तर, संसद् पुनर्स्थापना भयो भनेचाहिँ यादवको आधिकारिकतामा समस्या हुन्छ।

अर्कातिर संसदीय दलमा मात्रै बहुमत देखिएको ठाकुर–महतो पक्षले पनि पार्टीको आधिकारिकता पाउँदैन। त्यसैले ठाकुर–महतो पक्षले ९ जेठमा विज्ञप्ति निकालेर यादव पक्षको बैठक अवैध भन्यो र उक्त बैठकले चार नेतालाई सोधेको स्पष्टीकरणको खण्डन पनि गर्‍यो।

ठाकुर–महतो पक्षका नेता केशब झाको भनाइमा त्यही दिन ठाकुर–महतो पक्षले निर्वाचन आयोगलाई जानकारी गराएको पनि थियो। त्यसभन्दा पनि १४ वैशाखमा लुम्बिनी प्रदेशका चार जना सांसदलाई कारबाही गर्ने निर्णयमा पनि ठाकुर–महतो पक्षले असहमति जनायो र निर्वाचन आयोगमा पत्र लेख्यो। 

प्रकाशित मिति: : 2021-05-26 20:49:00

प्रतिकृया दिनुहोस्