आज स्थिति के छ भने हिजोको गरिमापूर्ण निर्वाचन आयोग प्रधानमन्त्रीको लाचार छाया बनेको छ र वेला–वेला दर्शन–भेट गर्न बालुवाटार धाउँछ
लोकतन्त्रको सौन्दर्य केमा छ भने यसको अभिन्न विशेषता मानिएको आवधिक निर्वाचनले जनतालाई आफूले मन पराएको पार्टी, नीति र नेता छान्ने अवसर दिन्छ। निर्वाचनले नै नेतृत्वको शिखरमा बसेको नेतालाई सडकमा पुर्याइदिन्छ, सडकमा रहेको नेतालाई शासनको शिखरमा।
अझ लोकतान्त्रिक गणतन्त्र हो भने त मुलुकको पहिलो नागरिक अर्थात् राष्ट्राध्यक्षसमेत कुनै वंशविशेष वा जन्मजात श्रेष्ठताको आधारमा होइन, मुलुकका अनाम नागरिकले प्रत्यक्ष वा परोक्ष रूपमा छानेका दुनियाँदारका सन्तान हुन्छन्। नेपालले संविधानसभाका माध्यमबाट जारी गरेको संविधानले यही लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ।
यसरी सिद्धान्तको कोणबाट हेर्दा त सब ठीकठाक छ। तर, जब यसको अभ्यास प्रारम्भ हुन्छ, त्यसपछि लोकतन्त्र र गणतन्त्र दुवैको अग्निपरीक्षा प्रारम्भ हुन्छ। यतिवेला यो मुलुक त्यही अग्निपरीक्षाबाट गुज्रिरहेछ। वस्तुतः लोकतान्त्रिक गणतन्त्रको ‘रेसिपी’को कुरा गर्न जति सजिलो रहेछ, त्यसअनुसारको पकवान बनाउन त्यति नै चुनौतीपूर्ण।
यो कुरा हाम्रै अहिलेको अवस्थाले पुष्टि गर्दै छ। संविधानसभाले नेपालीको चाहनाअनुसारको संविधान बनाएर जारी गरेपछि सबैकुरा ठीक हुन्छ, मुलुकमा सहकाल आउँछ र नेपालीका सुख र समृद्धिका दिन आउँछन् भन्ने जुन चाहना र अपेक्षा थियो, त्यो हेर्दाहेर्दै मृगमरीचिका साबित हुन पुगेको छ। नेपालीको सपनामा तुषारापात भएको छ।