वनमन्त्री आलेको भाइरल तस्वीर: कसरी टाँसियाे स्टिकर ?

मन्त्री भन्छन्– ‘मैले ‘स्टिकर’ टाँसेको हैन’

कमल प्रभात

काठमाडौं

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको ‘व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखेर टाँसिएका नीलो रङ्गका अक्सिजन सिलिण्डरसहितका फोटोले अहिले सामाजिक सञ्जाल भरिएका छन्। 

वन तथा वातावरणमन्त्री आलेले आफ्नो गृहजिल्ला डोटीको जिल्ला अस्पताल र धनगढी प्रादेशिक अस्पतालमा पुगेर उक्त अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामग्री हस्तारण गरेका हुन्। 

बेला–बेलामा सामाजिक सञ्जालमा ‘चर्चा’ मा भइरहने मन्त्री आलेले महामारीको बेला आफ्नो प्रचार गरेको भन्दै फेरि विवादमा परेका छन्। यसअघि ‘हामीले रुखलाई अक्सिजन दिन्छौँ र रुखले हामीलाई कार्बनडाइ–अक्साइड दिन्छ’ भन्ने वाक्य बालेको विषयलाई पनि सामाजिक सञ्जालमार्फत् उडाइएको थियो। 

चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूले निजी खर्चमा दिएको जस्तो गरी प्रचार गराएको आरोप उनीमाथि लगाइएको छ। 
मन्त्री आलेले भने उक्त स्वास्थ्य सामग्री आफ्नो निजी खर्चमा किनेर वितरण गरेको बताएका छन्। 

डोटी जिल्ला अस्पताललाई ७५ र प्रादेशिक अस्पताल, धनगढीलाई ५० गरी जम्मा १२५ वटा सिलिण्डर दिएका मध्ये एक सय १० अक्सिजन सिलिण्डर आफूले किनेको र १५ वटा सिलिण्डर टेकु अस्पतालबाट ल्याएको स्पष्टोक्ति आलेको छ। 

सेती प्रादेशिक अस्पताल, धनगढीमा मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले चिनियाँ अनुदानमा नभई आफूले किनेर दिएको बताएका छन्।

‘१५ वटा लिसिण्डर टेकु अस्पतालले दिएको हो। १ सय १० वटा मैले किनेको हुँ,’ मन्त्री आलेले भनेका छन्, ‘भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो। सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ।’

मन्त्री आलेले डोटी र धनगढी अस्पतालमा अक्सिजन अभाव भएको थाहा पाएपछि आफ्नै खर्चमा स्वास्थ्य सामग्री ल्याइदिएको तर प्रचार गर्न आफूले ‘स्टिकर’ टास्न नलगाएको समेत प्रष्टीकरण दिए।

आफ्नै खर्चमा स्वास्थ्य सामग्री हस्तारण गरे पनि विपत्को बेला प्रचारप्रसार गर्नुको नियत सही नहुने आलोचकहरुको भनाइ छ। यसअघि पनि सांसद् हिरा केसी र गंगा चौधरीले पनि नीलो रङ्गको अक्सिजन सिलिण्डर आफ्नो पहलमा जुटाएको बताउँदा सामाजिक सञ्जालमा आलोचित हुनुपरेको थियो। 

मन्त्री आलेका प्रमुख स्वकीय–सचिव हेमन्त रेग्मीले भने मन्त्रीलाई जानकारी नगराई आफूले उक्त ‘स्टिकर’ टाँसेको स्वीकार गरेका छन्। उनका अनुसार, अक्सिजन सिलिण्डर बालाजुको शङ्कर अक्सिजन प्लाण्ट र ककनीको अक्सिजन प्लाण्टमा भरेर लगिएको उनले जनाएका छन्।

‘नागरिकले मन्त्रीज्यूले बाँडेको अक्सिजन थाहा पाउँन् भनेर म आफूले टाँस्न लगाएको हुँ, मन्त्रीज्यूलाई यसबारे जानकारी थिएन्,’ सचिव रेग्मीले बताए।

प्रकाशित मिति: : 2021-05-25 16:29:00

प्रतिकृया दिनुहोस्