दलित समुदाय अत्यासलाग्दो जीवन बाँच्न बाध्य भइरहँदा हामी कसरी ‘मौन बस्न’ सकिरहेका छौँ ?
तिमीले थुनेको नर्कलाई, तोडेर यहाँ आइपुगेँ
हजार वर्ष हिँडेर, तिमीलाई सोध्न आइपुगेँ
ए ! मन भएको मान्छे, मनलाई सन्चै छ कि बिरामी ?
ए ! ज्ञान भएको मान्छे, ज्ञानलाई सञ्चै छ कि बिरामी ?
– आहुति
जात–व्यवस्थामा मानवीयता र प्रेम ‘वर्जित’ हुन्छ। रुकुममा त्यही भयो। मनमा आउँछ, ‘अबको पचास वर्षपछिको एक जवान युवाले अन्तरजातीय ‘प्रेम’ गर्दा ज्यान गुमाएका नवराज विकलगायत अरू पाँचजनाको सामूहिक हत्यालाई कसरी मूल्यांकन गर्ला ?’ जवाफ सहज छैन। तर, यो निश्चित छ कि सामाजिक, आर्थिक, तथा राजनीतिक चेतले अबको पचास वर्षसम्ममा केही थप ‘रुकुम नरसंहार’ दोहोरिनेछन्। दलित समुदायमाथि हिंसाका घटनाहरू अझ बढ्नेछन्। र, यो घटना इतिहासको विस्मृतिमा जानेछ।
संसदीय अध्ययन समितिसहित करिब १२ समूह, संस्था र अभियानहरूले घटनाको स्थलगत अध्ययन गरे। एकाधले ‘जातीय नरसंहार’ भने तापनि सबैजसोले घटनालाई अन्तरजातीय प्रेमका कारण गरिएको ‘नियोजित हत्याकाण्ड’का रूपमा प्रस्तुत गरे। पत्रकारिताको इतिहासमा दलित समुदायले कहिल्यै नबिर्सने गरी वरिष्ठ पत्रकारले रेडियो कान्तिपुरलाई स्थलगत फैसलाको आशय सुनाए, ‘...घटना जातीय विभेदका कारण भएको होइन ...।’