बालकृष्ण पोखरेलसितका सम्झेबिर्सेका बातहरू

लीलबहादुर क्षत्री

प्राध्यापक बालकृष्ण पोखरेलसित मेरो पहिलो भेट सन् १९७२ मा विराटनगर जोगबनी छेउको पुरानो हवाई अड्डामा भएको म सम्झन्छु। सन् १९७२ लाई राष्ट्रसंघले अन्तर्राष्ट्रिय पुस्तक वर्ष घोषणा गरेको थियो। त्यसै सिलसिलामा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगले पुस्तक प्रवद्र्धन तथा अध्ययनशीलता सम्बन्धी एउटा अन्तर्राष्ट्रिय संगोष्ठी राखेको थियो। साझा प्रकाशनको आयोजनामा काठमाडौंमा सम्पन्न हुने उपरोक्त चारदिने गोष्ठीमा भारतबाट दार्जिलिङका इन्द्रबहादुर राई, तुलसीबहादुर छेत्री, सिक्किम गान्तोकबाट काशीराज प्रधान अनि असम, भनौँ समग्रमा पूर्वाञ्चल भारतबाटै म एकजना गरी जम्मा चारजना थियौँ। अवश्य साथमा मेरी श्रीमती पनि थिइन्। भारतबाट निम्त्याइएकाहरूका निम्ति काठमाडौं जान विराटनगरबाट हवाई जहाजको टिकट आरक्षण गरिएको रहेछ, विराटनगर साझा प्रकाशनको क्षेत्रीय कर्यालयका प्रबन्धकद्वारा। श्रीमतीको आरक्षण थिएन, तापनि हवाई अड्डामै त्यसको व्यवस्था मिल्यो।  

त्यसताका विराटनगरको हवाई हड्डा जोगबनीको छेउ खुला टहरामा अस्थायी रूपमा थियो। हालको कञ्चनबारी हवाई अड्डा चालू भइसकेको थिएन। हामी सबै विराटनगर हवाई अड्डामा भेला भयौँ। विराटनगरबाट हामीसित अरू एकजना केही होचा, छरितो जिउडालका व्यक्ति थपिए, जोसित मेरो परिचय थिएन। जहाज आउन अलि ढिला भएकाले भूूमि छुनेबित्तिकै जहाजबाट ओर्लिने यात्री ओर्लिइ सक्तानसक्ता चढ्नेहरू धमाधम चढ्न थाले। हामी पनि ठेलठाल गर्दै चढ्यौँ, त्यहाँ कसैसित केही कुरा हुन पाएन।  a

प्रकाशित मिति: : 2021-05-22 10:14:00

प्रतिकृया दिनुहोस्