निषेधाज्ञाबीच पनि आपूर्ति व्यवस्था सहज : कुन वस्तुको कति छ मौज्दात ?

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ 

 

कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञामा समेत दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल दाल चाम लगायत पेट्रोलियम पदार्थको आपूर्ति नरोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञाको बाबजुद पनि अन्तरदेशीय आपूर्ति व्यवस्था सहज रहेको र आवश्यक खाद्यान्न, नुन, तेल, दाल चामल लगायत पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति भइरहेको मन्त्रालयले जनाएको हो ।

यस्तो आपूर्ति निषेधाज्ञाकै बीच अधिकतम ४९३ मालबाहक कन्टेनर (ट्रक) विभिन्न नाका गरि नेपाल प्रवेश गरेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार गत वैशाख १५ गतेदेखि जेठ ३ गतेसम्म कुल ४९३ मालवाहक कन्टेनर नेपाल प्रवेश गरेकोमा वीरगन्ज नाकाबाट अधिकतम १८३ कन्टेनर, जोगबनी नाकाबाट १५४, बेलहिया नाकाबाट १२२, जमुनाहा नाकाबाट २९ र त्रिनगर नाकाबाट ५ वटा मालबाहक कन्टेनर विभिन्न समयमा नेपाल प्रवेश गरेका छन् ।

यी ट्रकहरुले दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल, चामल, नुन तेल, चिनीसँगै पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको नै अधिकतम आपूर्ति गरेको मन्त्रालयको भनाइ छ ।

‘अतिरिक्त मेसिनरी मालसामान, उद्योग कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ, गार्मेन्ट, लत्ताकपडा लगायतका सामानहरुबाहेक दैनिक उपभोग्य वस्तुहरुको आयातमा कुनै कमी आएको छैन । निर्वाध आपूर्ति व्यवस्था सहज रहेको छ । गएको १५–१६ दिनमा मात्र अधिकतम दैनिक अत्यावश्यक माल वस्तु बोकका ४९३ कन्टेनरहरु नेपाल प्रवेश गरेका छन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने, ‘त्यति मात्र होइन अहिलेकै अवस्थामा हामीसँग ५–७ महिनालाई पुग्ने खाद्यान्न लागयत दैनिक उपभोग्य वस्तुहरुको स्टक (मौज्दात) समेत रहेको छ । त्यसैले कसैले पनि दैनिक उपभोग्य वस्तुलाई लिएर चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकारले त्यसको व्यवस्था गर्छ,’ रेग्मीले भने ।

त्यसो त निषेधाज्ञाकै बीच पनि निरन्तर सहज आपूर्ति भइरहेका बेला यता दैनिक उपभोग्य वस्तुको मौज्दातसमेत निकै राम्रो रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2021-05-19 09:19:00

प्रतिकृया दिनुहोस्