सरिशा अछामी
नर्स रोजिना गिरी यतिखेर धुलिखेल अस्पतालको कोभिड वार्डमा खटिएकी छन्। वार्डमा छिर्नुअघि पर्सोनल प्रोटेक्टिभ इक्पिमेन्ट (पिपिई) लगाउँदै गर्दा उनको मनमा डरले घर गर्न थाल्छ, कतै आफैँ संक्रमित हुने हो कि ? यहीबीचमा उनले आफ्नो ड्युटी, देश र संसारको अवस्था सम्झन्छिन्। अनि, आफू संक्रमित हुने मनको डर हार्छ र उनी वार्डमा प्रवेश गर्छिन्। ‘सुरुसुरुका दिनमा ८ घन्टा पिपिई लगाएर काम गर्यौँ, लामो समयसम्म पिपिई लगाएर काम गर्न मुस्किल हुन्छ,’ उनी भन्छिन्, ‘ट्वाइलेट जान र पानी पिउन नपाउँदा निकै पीडा हुन्थ्यो।’
२३ वर्षीया गिरी नेपालमा कोरोना भित्रिएदेखि नै कोरोना संक्रमितको वार्डमा खटिएकी हुन्। पछिल्लो समय उनी दिनमा सात घन्टा खटिनुपर्थ्यो। पहिलेको अनुभव, सिकाइ, बुझाइले आत्मबल बढाए पनि उनलाई डर लाग्थ्यो नै।
आफूलाई सुरक्षित राख्न उनी कोभिड वार्डबाट निस्किएपछि सधैँ नुहाएर मात्र घर जान्थिन्। ‘दुई साताअगाडि रात्रिकालीन ड्युटी थियो। रातको १ बजे लगातार दुई दिन नुहाएँ,’ रोजिना भन्छिन्, ‘त्यसपछि रुखाखोकी अनि थकाइ लागेको जस्तो महसुस भयो।’ कोभिड वार्डमा काम गर्ने भएकाले शंका लागेर उनले कोभिड परीक्षण गराइन्। गत शुक्रबार उनको रिपोर्ट पजेटिभ आयो। त्यसैले एक सातादेखि उनी भक्तपुर खरिपाटीको आफ्नो घरमा आइसोलेसनमा बसिरहेकी छन्।
‘ज्वरो आएको थिएन,’ उनी भन्छिन्, ‘कोरोना संक्रमितको केयर गर्दागर्दै आफू कसरी संक्रमित भएँ भन्ने नै थाहा पाइनँ।’