बिहानै सिंहदरबारको गेटमा
भेटिएको छ- एउटा वेवारिशे चिठ्ठी।
चिठ्ठी कसको हो? गेटमा कसले छाड्यो ?
चलिरहेकाे छ, अनुसन्धान।
चिठ्ठीको माथि लेखिएको छ- अस्पष्ट मिती र ठेगाना,
र अलि तल सम्बोधन गरिएको छ- प्रधानमन्त्रीलाई।
पहिलो अनुच्छेदमा लेखिएको छ-
मृत्युको तातो बगर हिँडेका रक्ताम्य कुर्कुच्चाबारे,
र छेउमै लेखिएको छ- मन्त्रीजीको ब्राण्डेड जुत्ताबारे पनि।
अलि तल लेखिएको छ-
घाम नलाग्ने बस्तीहरुमा आतंक मच्चाउँदै हिँड्ने
राजनीतिक आँधीको कुरुप चरित्र,
र लेखिएको छ-
धरहराबाट नदेखिने भूगोलको नाम।
चिठ्ठीमा लेखिएकाे छ-
आफ्नै छातीको रङ निचोरी बसेका मजदुरहरुको
एक पंक्ति उदास गीत,
र सँगै लेखिएको छ- प्रधामन्त्रीको नयाँ चुट्कीला पनि।
नछुटाई लेखिएकाे छ-
हजार वर्षदेखि भोकाएकाे ईतिहास,
रोगले ग्रसित बन्दै गएको यो देशको कानून,
जुलुसमा देखाइएका सपनाहरुको केही अध्याय,
सु-सज्जित पारामा लेखिएको छ-
बिरामी भएका अस्पतालहरुको आव्हान,
समृद्धीका भ्याक्सीन नाराहरु,
कफनबाट उठेका मुर्दाहरुले गरेको मृत्युको विज्ञापन,
र, कहिल्यै उच्चारण नगरिएका दाहा-संस्कारका मन्त्रहरु।
चिठ्ठीकाे अन्तिम अनुच्छेदमा लेखिएकाे छ-
ईश्वरको आँखा छलेर बतासले ल्याएको दुखद समाचार।
चिठ्ठी कसको हो? कसले छाडेकाे हाे ?
शहरभरी सोधपुछसहित चलिरहेकै छ, अनुसन्धान।
चिठ्ठीको तल छ- खतराको संकेतसहित अस्पष्ट हस्ताक्षर,
र अन्त्यमा लेखिएको छ एउटा नोट-
'भो पर्दैन तिम्राे सत्ता ! जो जनताकै शिकार गरिरहेछ।'