विराटनगर-१ की ३५ वर्षीया सावित्रा भट्टराई नर्सिङ पढिरहेकी थिइन्। भर्खर बिएन सकेर घरमै बसिरहेकी थिइन्। उनी गर्भवती थिइन्। परिवारमा दोस्रो सन्तानको आवागमनको ब्यग्र प्रतीक्षा थियो। खुसीयाली उत्तिकै।
सावित्रा सात महिनाकी गर्भवती थिइन्। शिशु जन्मिने समय नजिकिइरहेको थियो। भक्तपुरस्थित आफन्तको घर पुगेर वैशाख १३ गते उनी विराटनगर फर्केकी थिइन्।
जब उनी भक्तपुरबाट फर्किइन्, त्यसपछि उनको जीवनमा विस्तारै ग्रहण लाग्न सुरू भयो।
स्वास्थ्यकर्मी भएको हुनाले उनलाई थाहा थियो- नयाँ ठाउँबाट फर्केपछि केही दिन आइसोलेट हुने। स्वाब परीक्षण गर्ने।
यही क्रममा वैशाख १६ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखियो।
परिवारका अनुसार उनी कतै गइनन्। घरमै आइसोलेसनमा बसिरहेकी थिइन्। स्वास्थ्य सामान्य भएकाले उनलाई अस्पताल लैजानु परेको थिएन।
विस्तारै उनको स्वास्थ्य स्थिति बिग्रँदै गयो।
वैशाख २३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियू बेड आवश्यक पर्यो। परिवारले नोबेल शिक्षण अस्पताल लगेका थिए।