श्रीमान्‌को कोभिड निको पार्न काठमाडौं आएकी थिइन्, चितामा दागबत्ती दिएर फर्किन्

शिलापत्र

काठमाडाैं

रातो स्वीटर। रातै सुरुवाल। सिउँदोमा सिन्दुर। अनि नीलो पीपीई सेट। मुखमा मास्क। पछाडि बोकेकी थिइन् कालो झोला। बेचैन र शिथिल अनुहार। 

बिहीबार राति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा भेटिएकी थिइन्, गोरखाको शहीद लखन गाउँपालिका, ताक्लुङ्गकी ४० वर्षीया सविता लामिछाने।  

अस्पताल प्राङ्गणको चिसो भुइँमा घोप्टो परेर अक्सिजनको प्रतीक्षामा लडिरहेका थिए, ४२ वर्षीया सविताका श्रीमान् बाबुराम लामिछाने। उनको शरीरमा अक्सिजनको तह निकै तल झरिसकेको थियो। डा. अनुप बाँस्तोलाले हतार-हतार अक्सिजन चढाए। ३२ मा झरेको उनको अक्सिजनको तह केही बेरपछि ९० मा पुग्यो।

बाबुरामको शरीरमा जति अक्सिजनको तह घट्थ्यो, त्योभन्दा बढी सविताको मुटु ढुकढुक गर्थ्यो। उनी डाक्टरसँग हारगुहार गर्थिन्। बल्लबल्ल डाक्टरले बाबुरामका लागि प्यासेजमा बेड मिलाए। तर, उनका लागि भेन्टिलेटर चाहिने थियो। जो सम्भव नै थिएन। 

२९ वैशाख (बुधबार) मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा श्रीमान्‌लाई पुर्‍याएकी सविताले बेड र अक्सिजन नपाएपछि भोलिपल्ट बिहीबार टेकुमा पुर्‍याएकी थिइन्। तर, सोही दिन नवनियुक्त प्रधानमन्त्री केपी ओली भन्दै थिए, ‘अस्पतालहरूमा बेडको खासै कमी छैन।

बेड एकातिर बिरामी अर्कोतिर फर्किएको अवस्था छ। बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने इच्छा सबैको हुन्छ, ताकि बाँच्न सकियोस्। त्यसकारण खासखास अस्पतालमा बिरामी केन्द्रित हुने र अरु ठाउँ रिक्त हुने स्थिति छ। सबै ठाउँमा बेडको उपलब्धता छ। बेड मात्र होइन, अक्सिजनसहितका बेडहरू। आवश्यक अन्य उपकरणसहितका बेडहरू उपलब्ध छ।’

प्रकाशित मिति: : 2021-05-16 21:34:00

प्रतिकृया दिनुहोस्