सफा मौसम। नीलो आकाश।
चारैतिर आकाश चुमेका चाँदीजस्ता हिमाल। समुद्र सतहबाट ५,५५० मीटर अग्लो ठाउँमा पुग्दा मन फुरूङ्ग भयो। खुशीले पुलकित हुँदै क्यामरामा भटाभट तस्विर कैद गर्न थाले।
काठमाडौंबाट लुक्ला उडेर पैदल हिँडेको नवौँ दिनमा छुकुङ पुग्दै थियौँ। हप्ता दिनसम्मको लगातार यात्रा गर्दा आकाश खुलेको थिएन। यस्तो लाग्दै थियो– शायद् हामीसँगै रिसाएर धुम्म परेको थियो कि प्रकृतिजस्तो।
कतै हिमाल नखुल्ने पो हो कि भनेर मनमनै चिन्ता थियो। दर्जनौँ पटक 'एभ्रेष्ट ट्रेक' आएको मलाई हिमाल नदेख्दा पनि केही दुखेसो त हुने थिएन तर मेरा अतिथि पर्यटक एमीको पहिलो सगरमाथा ट्रेक थियो। उनले हिमाल देख्न नपाउने पो हुन् कि ?
नवौँ दिनको बिहान उठ्दा मौसम पूरा खुलेको थियो। सेताम्मे हिमाल र निलो आकाश ! खुशीले हतारिँदै म एमीको कोठा पुगेँ। उनी योगा गर्दै थिइन्। उनले पहिल्यै झ्यालबाट हिमाल देखिसकेकी रहिछिन्। उनी त्यसै–त्यसै मक्ख रहिछिन्।
बेलैमै छुकुम री (५५०० मिटर) पदयात्रा जान हतारियौँ। करिब अढाई घण्टा उकालो चढ्यौँ। जति–जति उकालो चढ्दै गयो, झन् झन् हिमाल देखिदैँ गयो। नजिकबाट हिमालको दर्शन गर्न पाउँदा को पो खुशी हुँदैन र ?
कोरोना महामारीको बेला गत अक्टोबरमा कूटनीतिक पाहुनालाई लिएर सगरमाथा आधार शिविरका पदयात्रा गरेको थिएँ। विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस महामारीले लामो समय 'लकडाउन' र 'निषेधाज्ञा' झेल्नु पर्यो। सबै व्यापारिक गतिविधि लगायत पर्यटन क्षेत्र पनि ठप्प भयो।
गत साल सात-आठ महिनाको प्रतिबन्धले बन्द भएको पर्यटन क्षेत्र हिउँद लागेपछि बिस्तारै फेरि लयमा फर्कन थालेको थियो। 'स्प्रिङ सिजन'मा पर्यटक आउने आश थियो।
दोस्रो लहरको कोरोना भाइरसले विश्वलाई फेरि गाँज्यो। पर्यटन क्षेत्र बहुरिने आशा पलाउँदै थियो, कोरोना महामारीको पुनरावृत्तिका कारण सरकारले पुनःनिषेधाज्ञा जारी गर्यो। आशा निराशामा परिणत भयो।
बिस्तारै विदेशी पर्यटकको 'इन्क्वाइरी' इमेलमा आउँदै थियो। फेरि विश्वभर दोस्रो लहरको कोराना फैलिँदै गयो। सरकारले निषेधाज्ञा जारी गर्यो।
कोरोना सङ्क्रमणको दोस्रो लहर व्यापक फैलिदै गयो। राजधानी काठमाडौँ उपत्यकासहित देशैभरि निषेधज्ञा लगाउने हल्ला चल्दै थियो। नेपालमा बस्ने एकजना अष्ट्रेलियन नागरिकले सगरमाथा आधार शिविर क्षेत्र पदयात्रा जान 'बुक' गरेकाले म सगरमाथा 'ट्रिप'को व्यवस्थापन गर्नतिर लागेँ।
काठमाडौँबाट लुक्ला उडेर पैदल हिँडेको नवौँ दिनमा छुकुङ पुगेका थियौँ। आफ्नो आठवर्षे छोरा लुइससँग 'ट्रेक' हिँडेकी एमीले नाम्चेमा छोराको नवौँ 'बर्थ डे' मनाइन्। अनि छोरा लुइस गाइड महेन्द्रसित लुक्ला फर्किए। उनी हामीसँगै एभ्रेष्ट ट्रेकको यात्रामा अगाडि बढिन्।
आठौँ दिनमा छुकङ (४७३० मिटर) बास बस्न पुगियो। भोलिपल्ट साढे दुई घण्टाको उकालो पदयात्रा गर्दै छुकुङ री (छुकङ डाँडा) पुग्यौँ।
वाह ! कति सफा मौसम ! चारैतिर हिमाल।
हामीले थामसेर्कु, वरुन्चे, आमा डब्लाम, आमा लाप्चा, मकालु, आइलेन्ड पिक, ल्होत्से, नुप्त्से , चोयो, पुमोरी, लवुचे, चोलात्से लगायतका दर्जनौँ हिमाल सामुन्ने आए, मानौँ 'थ्रिडी' चश्मा लगाएर हिमाल हेर्दैछौँ। आँखाअगाडिको दृश्यमा केहीबेर आनन्द लियौँ। हामी यस्तो मन्त्रमुग्ध भयौँ कि आफैँभित्र हरायौँ। संसार भुल्यौँ।
संयोग पनि कस्तो, त्यही दिन 'अन्तर्राष्ट्रिय मदर्स डे' परेको रहेछ। एमीले खुशी हुँदै भिडियो कलमार्फत् अष्ट्रलियामा रहेकी उनकी आमासँग कुरा गरिन्। हिमालको दृश्य देखाइन्।
करिब एक घण्टा हिमालको मनोरम दृश्यमा रमाउन पाउँदा भाग्यमानी ठान्यौँ। बिस्तारै बादल ढाकिँदै थियो। हुस्सु र हावाहुरी चल्न थाल्यो। हामी बिस्तारै छुकुङतर्फ ओर्लियौँ।
हाम्रो गन्तव्य सगरमाथा आधार शिविर (एभ्रेष्ट वेस क्याम्प) पुग्न यहाँबाट अझै दुई दिनको पदयात्रा बाँकी थियो।
(न्यौपाने रसुवा ट्रेकका निर्देशक हुन्।)