बजार अनुगमनलाई तीव्रता

The nepal top
The nepal top

सिन्धुलीमाढीका बजारमा दैनिक खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बजार अनुगमनलाई तीव्रता दिएको छ। 

बजारमा तेल, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य बढेको, कृत्रिम अभाव सिर्जना गरेको गुनासो उपभोक्ताले गरेपछि अनुगमन गरिएको हो। 

प्रशासनले गरेको अनुगमनका क्रममा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा रहेको कमला सप्लायर्सका सञ्चालक जयकुमार दासलाई कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। यस्तै अनुगमन टोलीले ४५० बोरा चामल जफत गरी फिर्ता पठाएको छ। 

कमलामाई नगरपालिका–६ रातमाटामा रहेको गुप्ता खाद्यान्न भण्डारबाट उत्पादित मिति, ब्याज नम्बर र उपभोग्य मितिसमेत उल्लेख नभएको चामल जफत गरी फिर्ता पठाएको हो। 

कोभिड–१९ नयाँ भेरिएन्टको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधाज्ञामा व्यापारीहरुले खानेतेल र चिनीमा मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि अनुगमन गरिएको थियो। 

शुक्रबार सिन्धुली जिल्लासहित रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सोलुखुम्बुलगायत जिल्लामा खाद्यान्न ढुवानी गर्दै अएका आपूर्तिकर्ताहरुमा अनुगमन गरिएको थियो। हरेक सप्लायर्समा फरक÷फरक मूल्य पाइएकाले मूल्यमा एकरुपता ल्याउन छलफल गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयले सामग्री लुकाई बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारवाही गर्ने जनाएको छ। निषेधाज्ञाको समयमा मूल्य बढाउने, सामान लुकाउनेजस्ता कार्य हुनसक्ने भएकाले बजार अनुगमनलाई तीव्रता दिई कालोबजारी नियन्त्रण र मौज्दातको अवस्था बुझी कारवाही गर्ने जनाएको छ। 

यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निषेधाज्ञा उल्लङ्घन गरी व्यवसाय  सञ्चालन गर्ने २६ व्यवसायीलाई नियन्त्रणमा लिई कारवाही गरेको छ। 

निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती व्यापारीलाई नियन्त्रणमा लिई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको जिप्रका सिन्धुलीले जनाएको छ। 

पक्राउ पर्नेहरुमा १५ मरिण गाउँपालिका र ११ कमलामाई नगरपालिका सदुरमुकाम क्षेत्रका व्यापारी रहेको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ देखि १० बजेसम्म अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापारीलाई व्यवसाय सञ्चालन गर्न समय दिएको छ। 

निषेधाज्ञाको अवज्ञा गर्दै होटल तथा अन्य व्यवसाय सञ्चालन गरी मानिसको भीडभाड गराउने कार्यमा तल्लीन रहेको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाहीका लागि पठाएको बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-15 14:07:00

प्रतिकृया दिनुहोस्