कोरोना सङ्क्रमितको होम आइसोलेशनमै मृत्यु

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक
Symbolic photo
Symbolic photo

धुलिखेल नगरपालिका–१ का ५० बर्षिय कोरोना सङ्क्रमित पुरुषको बिहीबार घरमै मृत्यु भयो। उनलाई विहीबार विहान मात्रै कोरोना सङ्क्रमण पुष्टी भयो। कोरोनाले ग्रसित भएपछि उनको आफन्तले परीक्षणका लागि स्वाब लिन पहल गरेका थिए।

गत आइतबार पनि काभ्रेपलाञ्चोकका दुई पुरुषको ‘होम आइसोलेशन’मै मृत्यु भयो। घरमै मृत्यु भएका दुवै पुरुष एकै वडाका हुन्।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) का अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ बर्षका दुई पुरुष रहेका छन्।

५८ बर्षिय पुरुषलाई शनिबार र अर्का २७ बर्षेलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टी भएको थियो। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको उक्त  घटना जिल्लामै पहिलो हो।

'होम आइसोलेशनमै मृत्यु हुनु निकै दुःखद घटना हो, होम आइसोलेशनमा रहेकाले स्वस्थ्य समस्या परे स्थानीय स्वास्थ्य शाखमार्फत तत्कालै खबर गर्नुपर्छ भन्दै आएका छौँ' केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले भने।

उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याईँ गर्ने र स्वास्थ्य स्थिति बिग्रदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत सुरु गर्न नपाउँदै अस्पतालै मृत्यु हुने गरेका घटना पनि बढेका छन्।

पछिल्लो हप्तादेखि समुदायस्तरमा जोखिम बढ्दै गएकाले कोरोना सङ्क्रमितको यही अवस्था रहीरहे होम आइसोलेशनमा मृत्यु हुनेको सख्या दोब्बर बढ्दै जाने आशंका गरिएको छ।

स्थानीयस्तरमै सङ्क्रमितको तथ्याङ्क अध्यावधिक गरी दैनिक उनीहरुको अवस्था बुझमात्रै घरमै मृत्यु हुने संख्या घट्नसक्ने झाले बताए। उनका अनुसार होम आइसोलेशनमै मृत्यु भएकाको विस्तृत बिवरण (हिष्ट्री) लिने प्रयास गरिएको गरेको छ।

सङ्क्रमितको होम आइसोलेशनमै मृत्यु हन थालेपछि डीसीसीएमसीले होम आइसोलेशनमा बसेका सङ्क्रतिलाई थप स्वास्थ्य समस्या आए तत्कालै स्थानीय स्वास्थ्य संस्थामार्फत सम्पर्क गर्न अपील गर्दै आएको छ।

धुलिखेल नगरको स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले भने होम आइसोलेशनमा रहेका सङ्क्रतितलाई थप स्वास्थ्य समस्या भएमा तत्कालै शाखामा सम्पर्क गर्न अपील गरिरहेको दावी गरे।

'होम आइसोलेशनमा बसेकालाई हामीले दैनिक स्वास्थ्यकर्मी र स्थानीय सञ्चारमाध्यमबाट थप स्वास्थ्य समस्या भएमा तत्कालै शाखामा सम्पर्क गर्न भन्दै आइरहेका छौँ' उनले भने।

आइसोलेशन सेन्टर ब्यवस्थित गरेका केही स्थानीय तहले पनि घरमा बसेका सङ्क्रमितलाई थप स्वास्थ्इ समस्या देखिए स्वास्थ्यकर्मीको सुविधा भएको आइुसोलेशनमा बस्न आग्रह गरिरहेको जनाएका छन्।

'हामीले आइसोलेशनमा बस्न आग्रह गर्दै आएका छौँ, तर स्वास्थ्य समस्या जटिल नभएसम्म सङ्क्रमित घर छाड्न मान्दा रहेनछन्, हामी वडास्तरमै कोरोनाको नमूना स्वाब संकलन गर्दै आइलोशनको सुविधासमेत लिन आग्रह गर्दै आएका छौँ' पाँचखाल नगरप्रमुख महेश खरेलले भने। उनका अनुसार पाँचखाल आइसोलेशनमा हाल तीन सङ्क्रमित रहेका छन्।

कोरोनाको दोस्रो लहर सुरु भएयता काभ्रेका कुल सङ्क्रमितमध्ये ९६ दशमलब १५ प्रतिशत अर्थात् एक हजार ५५८ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन्।

काभ्रेपलाञ्चोकमा पछिल्लो २४ घण्टामा जिल्लामा थप १५६ मा कोरोना सङ्क्रमण पुष्टी भएको छ। अघिल्लो दिन हालसम्मको सबैभन्दा बढी १४६ मा कोरोना सङ्क्रमण पुष्टी भएको थियो।

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरुभएयता हालसम्म काभ्रेपका कूल एक हजार ६१८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ६४०, धुलिखेलमा ३३४, पनौतीमा २९७, पाँचखालमा १०४, नमोबुद्धमा ६०, मण्डनदेउपुरमा ६५ तथा रोशी गाउँपालिकामा २०, चौंरीदेउरालीमा १८, तेमालमा ११, भुम्लु २७, खानीखोलामा ७, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा १७ सक्रिय सङ्क्रमित रहेका छन्।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३९ दशमलब ५५ प्रतिशत सङ्क्रमित रहेका छन्। हालसम्म जिल्लाका ६९सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रकाशित मिति: : 2021-05-14 19:54:00

प्रतिकृया दिनुहोस्