नेपालसँग अरू विकल्प नभएको ओली पक्षको बुझाइ
नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले तत्काल आफू पक्षीय सांसदहरूले सामूहिक राजीनामा नदिने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन छलफल गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार साँझ आकस्मिक रूपमा बसेको पार्टी स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले माधव नेपाल आफूले गरेको प्रतिवद्धताबाट पछि हटेको बताएका थिए।
उनले 'धोका' शब्दको प्रयोग नगरे पनि त्यस्तै आशयको ब्रिफिङ भने गरेका थिए।
'माधवजीले हामी जस्तोसुकै त्याग गर्न तयार छौं भनेर भन्नुभएको थियो। देउवाजीलाई पनि यही प्रतिवद्धता जनाउनुभएको हो,' प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,'पहिला २८/३० जनाले राजीनामा दिन्छौं भन्नुभएको थियो। केही नभए राजनीतिक रूपमा मैले, झलनाथ खनाल र भीम रावलले राजीनामा दिन्छौंसमेत भन्नुभएको थियो। तर अन्तिम समयमा उहाँ कुन दबाबमा पर्नुभयो थाहा भएन।'