सेनालाई सलाम !

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चलेको उखान हो। समाजमा बस्नेले जीवनमा यति कमायो भने पुग्छ भन्ने दिन कोरोना महामारी अघिसम्म थियो। तर, चल्तीको उखान अहिलेको सन्दर्भमा मेल खाँदैन। छिमेकी वा आफन्तकै पनि निधन हुँदा शोकधुन सुनेर दौडदै मलामी जाने अवस्था छैन अहिले। जीवनभर चिनेका, देखेका अनि सुनेकासम्मको मलामी गएर आफ्ना लागि सुरक्षित गर्नेले समेत यो समय घाटमा सुनसान वातावरणमा पुग्नु र जल्नु परिरहेको छ। परिवारले शवमा अँगालो हालेर समेत रुन पाउँदैनन्, मुख हेरेर दागबत्ती दिनु त परको कुरा। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याएको छ। 

महामारी बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि थपिँदो छ। दैनिक कुनै न कुनै परिवारले आफ्ना सदस्य गुमाउँदैछन्। देशमा नयाँ रोगसँगै शोक पनि थपिँदो छ। डर र त्रासमा दिन काट्ने बाध्यता सबैको छ। तर, डरभन्दा पनि जिम्मेवारीलाई महŒव दिएर महामारीमा ज्यान गुमाएकालाई अन्तिम सलामी दिने सलामकर्ता नेपाली सेना अहिले हाम्रा लागि ‘मर्दाका मलामी’ हुन्, छिमेकी हुन् र आफन्त पनि। महामारीको युद्धमा होमिँदा मन भक्कानिए पनि सहेर शवको अन्तिम संकारमा जुट्ने नेपाली सेनाको त्यो टोलीलाई सलाम छ।

देशमा सधैं विपद् आउँदा अग्रपंक्तिमा खटिने नेपाली सेनाले अहिले नागरिकको मलामी बन्ने मात्रै होइन। अन्तेष्टिको सबै जिम्मेवारीमा काँध थापेको छ। सैन्य अधिकारीकै भनाइलाई लिँदा सेना देशकै खब्बा बन्नु परेको अवस्था छ। कोरोना महामारीमा राजनीतिक प्रदूषण फैलिएको समयमा महामारी नियन्त्रणसँगै शव व्यवस्थापनको खम्बा बनेको छ सेना। कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारी सेनाले भुलेका छैनन्। सेनाले गर्दै आएको शवको अन्तिम संस्कारमा संख्या थपिए पनि धर्मिक र सांस्कृतिक तथा परम्परागत मुल्यमान्यतालाई आदर र सम्मान गर्नमा सेना पछि छैन। हाम्रो परम्परामा सेनाले सलामी थपेको छ। यो शवलाई दिने सलामीले नेपाली जनताले गर्ने सेनाप्रतिको सम्मान अझै बढाएको छ।

प्रकाशित मिति: : 2021-05-13 09:10:00

प्रतिकृया दिनुहोस्