चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ। उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन्। साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ।

पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता थिए। चौलागाईँको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो।

उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए। पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिभएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

स्नातकोत्तर उहाँले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए। उनले पटकपटक गरी छ महिना बन्दी जीवन बिताएका थिए।

विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगालेका  चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन्।

पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।रासस

प्रकाशित मिति: : 2021-05-12 15:43:00

प्रतिकृया दिनुहोस्