कोभिडको उपचारमा खटिएका कर्मचारी र बिरामीलाई तातो खाना वितरण अभियान 

कोरोना महामारीले दैनिक १० हजारको हाराहारीमा संक्रमण फैलिरहेको भयावह स्थितिमा महिलाका लागि मानव अधिकार एकल महिला समूहमा कार्यरत कर्मचारीहरु भने स्वास्थ्य क्षेत्रमा सक्रिय कर्मचारीहरुलाई तातो खाना वितरण अभियनमा जुटेका छन्।

हिजोदेखि सुरु भएको तातो खाना वितरण अभियान अन्र्तगत हिजो सो संस्थाले कान्ति बाल अस्पताल, बीर अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह, स्वास्थ्य चौकी बुढानीलकण्ठ, नेपाल मेडिकल एसोसियसन र ओम अस्पतालमा तातो खाना वितरण गरेको थियो।

संस्थाले कोभिडका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी, एम्बुलेन्स चालकलाई तातो खाना वितरण गरेको हो।

यसैगरी संस्थाले बाँकेको भेरी अञ्चल अस्पतालमा उपचाररत कोभिडका बिरामीहरुलाई पौष्टिक खानेकुरा वितरण समेत गरेको थियो। 
एकल महिला समुहले यो अभियान निरन्तर चल्ने जनाएको छ।

एकल महिला समुहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझीले रातदिन आफ्नो ज्यानलाई जोखिममा राखेर कोभिड बिरामीको उपचारमा खटिएका कर्मचारीहरुले समयमा खाना खान समेत नपाइरहेको समयमा संस्थाले  उनीहरुको स्वास्थ्यलाई समेत ध्यान दिँदै तातो खाना वितरण गरेको जानकारी गराएका छन्।

'काममा व्यस्त भइरहेको बेला हातमा तातो खाना पुर्याइसकेपछि एकैछिन भएपनि उनीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिन पाउने र त्यही उर्जाले फेरि दिनभर खटिन बल प्रदान गर्ने भएकोले हामीले तातो खाना अभियान संचालन गरेका हौँ', कार्यक्रम व्यवस्थापक राजिनको भनाई छ।

संस्थाले गत वर्षपनि हजारौं महिला तथा मजदुरहरुलाई राहत स्वरुप खानेकुरा र दैनिक उपभोग्य सामाग्री वितरण गरेको थियो।

प्रकाशित मिति: : 2021-05-10 13:39:00

प्रतिकृया दिनुहोस्