कोभिड- १९ ले थला परेको छ, देश।
भाइरस पस्ला भन्ने डरले श्वास थुनेर बस्नु परेको छ। सिंगो देशमा उकुस मुकुसको अवस्था छ। देशमा पर्याप्त अस्पताल छैनन। त्यसमाथि महामारीको बोझले देशलाई सिकिस्त बनाएको छ।
'ज्यान लेवा' भाइरस नियन्त्रण गर्न देशका पचासभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ। र पनि संक्रमितको संख्या नियन्त्रण हुने छाँट देखिएको छैन। संक्रमितसँगै कोरानाले ज्यान गुमाउनेहरुको गणित पनि दिनहुँ बढदो छ। यसले आगामी केही महिना कति त्रासपूर्ण हुन सक्छन भन्ने तस्वीर हाम्रो अगाडी देखिदै छ।
यो समयमा तपाई कुनै अस्पताल पस्नु भएको छ भने देख्नु भएको होला, सिमित स्रोत साधनमा चलेका देशभरीका अस्पतालहरुमा मृत्यु घुमिरहेको जस्तो देखिन्छ। बिरामी र बिरामीका आफन्तीहरुको पिडा र आँशु अस्पतालका चौर, भर्यागं र भुँइहरुमा पोखिएका देखिन्छन्। अक्सिजनको अभावमा बाँच्न सकस भएकाहरुको आवाज अस्पतालको छेउछाउसम्म हिँक्क हिँक्क सुनिन्छ।
अहिले समय असाध्यै संवेदनशील छ। हामी यो महामारीबाट मुक्त हुन चाहन्छौ। यस्तो संवेदनशील र अर्थपूर्ण समयमा महामारीसँग कसरी लड्ने र सुरक्षित हुने भन्ने बहस मुख्य हुनुपर्ने हो। तर, देशको भविष्य र जिम्मेवारी बोकेको छु भनेर दावी गर्नेहरुले नै जनताको जीवनलाई बुख्याँचाको दर्जा दिएर विवेकहिन राजनीति गरिरहेका छन्।
व्यापारभन्दा चर्को माैलाएकाे छ, राजनीति। सबै समय महामारी नियन्त्रणमा लगाउन पर्ने बेलामा 'राजनीती गर्ने'हरुले नै 'विपतको व्यापार' चलाइरहेका छन्।
एकपटक साता यताको राजनीतिक गतिविधि मात्र सम्झ्याैँ भने मात्र यस्तो महामारीको बेलामा पनि हाम्रो राजनीति कति गैरजिम्मेवार छ भन्ने प्रष्ट देखिन्छ। सत्ता पक्ष होस वा प्रतिपक्ष अछुतो कोही छैनन्। महामारीले एमाले, कांग्रेस वा माओवादी भन्दैन। सत्ता भन्दैन। सुकुम्बासी भन्दैन।
यो सत्यलाई छोपेर महामारीको बेला लासमाथिको राजनीति गरिरहेका छन्। औषधिमाथि राजनीति गरिरहेका छन्। उपचारमाथी राजनीति गरिरहेका छन्। जनताको जीवनमाथि गरिएको यती लज्जास्पद राजनीतिले उनिहरुको अनुहारभरी फोहोर मात्र देखिएको छैन राजनीतिमाथीको विश्वास नै डगमगाउँदै छ।
कुनै दिन देश यो भाइरस र महामारीबाट मुक्त त हुन्छ, हुन्छ। तर प्रश्र त याे हाे कि कलंकित राजनीतिकाे भाइरसबाट मुलुकले कहिले निकास पाउने? कहिले छुटकारा पाउने?
यो भाइरसभन्दा खतरनाक राजनीतिबाट देशलाई मुक्त नगरुन्जेल कमिसनतन्त्र सकिनै छैन। मृत्युसँग लडिरहेकालाई, बेड पाउन कमिसन। औषधि किन्दा कमिसन। उपचारमा कमिसन। सडक निर्माणमा कमिसन। एयरपोर्टमा कमिसन। खाद्दानमा कमिसन। तेलमा कमिसन। सामान्य जनतासँग प्रश्न बाहेक केही छैनन्। यो कमिसन तन्त्रबाट हामीले कहिले छुटकारा पाउने? मुक्त हुन हामी कहाँ जाने?
राजनीतिज्ञहरुका लागि यो महामारी सिंहदरबार पस्ने खेलो बनेको छ। सर्वसाधारण भोकले मरुन् या रोगले, उनीहरुको यो चासोको विषय होइन। जनताको दुःखका दृश्यहरु राजनीतिको आँखामा अटाउन सकेका छैनन्।
अमेरिकी लेखक मार्क ट्वेनले बारम्बार दोहोर्याएको एउटा कथन छ 'हामीले हाम्रो लागि हामी बनाएनौ।' ठिक यही लागू भइरहेको छ, देशमा। जनता सधैँ कठपुतली बनिरह्यौ। हाम्रा पखेट्टाहरु राजनीति गर्नेहरुले काटिदिए। भष्ट्राचारले काटिदियाे। 'सिस्टम'ले काटिदियाे।
अबका केही वर्ष चाहेर पनि अग्लो उडान भर्न मुलुकलाई कठिन हुनेछ। आज कोरोना महामारीले जनताकाे जीवन मात्र धरापमा छैन, अर्थतन्त्रको समेत मुटुमै हानेको छ। अबका केही वर्ष मुलुकका लागि असाध्यै कठिन बाटो अगाडि देखिदैँछ।
यस्तो त्रासदीपूर्ण समयमा राजनीतिमात्र सग्लो र सहयोगी बनिदिएको खण्डमा जनताले कम्तीमा छितिजमाथिकाे उज्यालो देख्न पाउने थिए। महामारीको बेला सपनासमेत देख्न बन्चित भएका छन्, सर्वसाधारण।
राजतीतिको होडाबाजी र सत्ताको लोभ त पुरानै हो। राजनीतिको आडमा फगत राजनीतिज्ञहरुको आडम्बर चुलियो। देश के हो? जनता को हुन् ? सीमाना र भूगोल के हो? राष्ट्रियता के हो? भन्ने कुरा सहायक बनाइयो। हुँदा-हुँदा याे महामारीमा सर्वसाधारणको मृत्युलाई समेत व्यापार बनाउँन छाडीएन।
कम्तीमा यो महामारीको बेला लासमाथिको व्यापार गर्न अलिकति मात्र आँत कापेको भए हुने थियो। महामारीका बेला कमिसनको 'लाजनीति' नदेखाएको भए हुने थियो। राजनीतिज्ञले जनतामाथि यतिसम्मको सदासयता पनि देखाएनन्।