ओली अघिअघि, प्रचण्ड पछिपछि

नेपाल खबर

काठमाडौँ

रूपबहादुर विश्वकर्मा

गत पुसमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक सबैलाई आश्चर्यमा पारेका छन्, आफूविरुद्ध अविश्वासको प्रस्ताव पेस हुनुपहिल्यै विश्वासको मत लिने निर्णय गरेर। त्यतिबेला पनि उनले पार्टी (नेकपा) भित्रको विवादका कारण प्रतिनिधि सभा नै विघटन गर्लान् भनेर सम्भवतः कसैले सोचेका थिएनन्। ओलीका प्रमुख प्रतिद्वन्द्वी प्रचण्डले त झन् कल्पनै गरेका थिएनन्। तर ओलीले अचानक राष्ट्रपतिमार्फत पुस ५ गते संसद् भंगको घोषणा गराउँदा सबै छक्क !

त्यतिबेला पनि सायद तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गर्दै थिए। तर ओलीले यति छिटो मन्त्रिपरिषद् बैठक राखेर राष्ट्रपतिसमक्ष सिफारिस गरीवरी संसद् विघटन गराउन भ्याए कि उनीहरूले सोच्नै भ्याएनन्। भीम रावलहरूले संसद् विघटन पहिले नै ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छौं भनेर दाबी त गरे, तर संसद् सचिवालयले विघटनभन्दा पछि दर्ता भएकाे भनेर त्यसै झिसमिस पार्‍याे।

नेकपा भंग हुँदा पनि प्रचण्ड छक्क !
हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नेकपा एकता भंग गराएको फैसलाबारे केही दिनअघि मात्रै सार्वजनिक भाषणमा भनेका छन्, ‘त्यस्तो होला भनेर हामीले कल्पनै गरेका थिएनौं।’

सर्वाेच्च अदालतले गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको निर्णय बदर गर्दै संसद् पुनःस्थापना भएको फैसला गरेपछि आफूहरूको जित भएको भन्दै प्रचण्ड–नेपाल हौसिए। तर त्यसको खुसीयालीमा लड्डु खान नभ्याउँदै सर्वाेच्च अदालतले अर्काे यस्तो फैसला (नेकपा भंग) गरिदियो, जसले उनीहरू छाँगाबाट खसेझैं भए। त्यसको पुनरवलोकन माग गर्दै प्रचण्डले निवेदन त दिए, तर अदालतले ठाडै अस्वीकार गरिदियो।

प्रकाशित मिति: : 2021-05-06 15:19:00

प्रतिकृया दिनुहोस्