सरकार भाग्याे भन्ने लागेर उनीहरू मान्छे बचाउन मैदान उत्रिए

शिलापत्र

काठमाडौँ

सागर चन्द

 

१७ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल जारी गर्‍याे । त्यसमा कोरोना नियन्त्रणमा सरकारी लाचारी प्रकट थियो । कोराना संक्रमितको संख्या अचाक्ली बढेकाले थेग्न नसक्ने भन्दै सरकारले हात उठाएकाे थियाे ।

काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा कोरोनाकाे वेग तीव्र छ । समयमै उपचार नपाएर मान्छे मरिरहँदा, अस्पतालको आँगनमै पुगेर संक्रमित छटपटाइरहँदा सरकारले ‘आफ्नो ज्यान आफैँ जोगाउनु’ भन्दै अपिल जारी गरेकाे थियाे ।

काेराेनाकाे फैलावट केही मत्थर भएका बेला यसबारे दिल्लगी गरेका, बेसार-पानी अनि अम्बा पातको झोलवाला ओखतीसूत्र सुझाएका प्रधानमन्त्री केपी ओलीले पूर्वतयारीका लागि पाएकाे समय खेर फालेकाे विषयमा कुनै क्षमा याचना अपिलमा थिएन । प्रधानमन्त्री ओलीले भनेका कुरामा ढुक्क भएर कतिले ज्यान जोखिममा पारे होलान् । कोरोनालाई खेलाँची ठानेर कतिले यसलाई फैलिन सजिलो बनाइदिए होलान् । यसकाे ठ्याक्कै विवरण नभए पनि जनस्वास्थ्यविद् सुजन मरहट्ठा प्रधानमन्त्रीकाे अभिव्यक्तिले नागरिकमा असर पार्ने बताउँछन् । 'प्रधानमन्त्री भनेको कुनै व्यक्ति होइन, संस्था हो’, मरहट्ठा भन्छन्,  ‘हाम्रा प्रधानमन्त्रीले महामारी नसकिँदै आधारहीन कुरा गरिदिनुभयो । कतिपय नागरिक त उहाँको कुरा पत्याएर पनि बेपर्वाह भए होलान् ।’ 

अहिले काेराेनाले कतिसम्म हायलकायल पारिसकेकाे छ भन्ने कुरा अस्पतालका खचाखच शय्या, अस्पताल परिसरमा बिरामी छट्पटाइरहेकाे टीठलाग्दाे दृश्य अनि आर्यघाटमा लासको लाइनले देखाइरहेकै छ । तर, सरकारले अझै नचेतेकाे प्रतीत हुन्छ । कतिपयले सामाजिक सञ्जालमा लेखेका छन्, 'नागरिककाे स्वास्थ्यप्रति सरकार संवेदनशील देखिएन ।'  

हुन पनि अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटरकाे अभावमा काेराेनाका बिरामी चित्कार गरिरहँदा प्रधानमन्त्री ओली र उनको समूह सत्ताकाे गठजाेडमा व्यस्त छ । 

प्रकाशित मिति: : 2021-05-06 09:43:00

प्रतिकृया दिनुहोस्