मंगलवार डाक्टर केदार रायमाझीले केही युवालाई घरमै बोलाए। केहीबेर कुराकानी गरेपछि कोठाभित्र छिरे। फर्कँदा उनको हातमा 'फ्लो कन्ट्रोल भल्भ' र 'ह्युमिडिफायर' थियो। उनले अक्सिजन सिलिन्डरमा प्रयोग हुने यी सामान भेट्न आएकाहरूको हातमा थमाए। सँगै दिए केही रकम पनि। भने – 'अक्सिजन बैंकका लागि खर्चनु।'
रायमाझीलाई त्रसित बनाएको छ अहिलेको कोरोना भाइरसले निम्त्याएको अवस्थाले। झन् खबरका हरेक बुलेटिनमा उपचार, औषधी र अक्सिजनको अभावबारे सुन्दा निकै झस्कन्छन् उनी। खाटा बस्न लागेको उनको घाउ उप्के झै हुन्छ। बितेर गएकी श्रीमतीको छट्पटाहट सम्झन्छन्। उनलाई सास फेर्न गाह्रो हुँदा फेर्ने त्यो लामो सासको आवाज गुञ्जिन्छ उनको कानमा।
गत भदौमा हो उनकी श्रीमती उर्मिला बितेको। पाँच वर्ष अघिदेखि दुवै किड्नीले काम गर्न छाडेको थियो उनको। तर, पाटन अस्पतालले दिएको 'डेथ सर्टिफिकेट'मा मृत्युको कारण किड्न फेलिएर थिएन। थियो त – कोभिड-१९ को संक्रमण। ६३ वर्षीया उर्मिला मृत्यु विरुद्ध डायलासिस र नियमित औषधी खाएर जुधिरहेकी थिइन्। युद्ध चाहिँ हराइदियो कोरोनाले।