निर्भीकजंग रायमाझी
मूलपानीका भरत थापाका भाइ निकेशलाई कोरोना संक्रमणको शंकामा सात दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वास समस्या बढेपछि बुहारी र भाइका सासुलाई पनि आइतबार दिउँसो वीर ल्याइपुर्याए ।
तर, उनीहरुले बेड पाउन सकेनन् । बुहारीलाई सास फेर्न झन्झन् गाह्रो हुँदै गयो । आत्तिएका थापाले सबैतिर हारगुहार गरे । तीन घण्टाको प्रयासपछि उनले एउटा अक्सिजन सिलिण्डर पाए । ‘सिलिण्डर मात्र होइन, बिरामीको अक्सिजन लेभल नापिदिने, ब्लड प्रेसर नापिदिने काम पनि गरिएन’, सोमबार वीर अस्पतालकोे कोरोना वार्ड बाहिर भेटिएका थापाले आफ्नो पीडा सुनाए ।
अस्पताल प्रशासनले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उनी आक्रोश पोखिरहेका थिए । ‘यहाँको वातावरण हेर्दा म आफैं पनि संक्रमित हुने अवस्था आइसक्यो’, थापाले भने, ‘मुलुककै ठूलो अस्पताल भनेपनि अस्पतालको अवस्था बिजोग छ ।’
काठमाडौं बबरमहलका ५४ वर्षीय संक्रमितका आफन्त आरती केसी (परिवर्तित नाम) पनि अस्पतालले बिरामीको ख्याल नगरेको बताउँछिन् । उनको गुनासो छ, ‘राति बिरामीले बोलाउँदा नर्सहरूले बेवास्ता गर्छन् । भनिन्, ‘सास फेर्न गाह्रो भयो भने कहाँ भन्ने हो थाहा छैन !’