अभावले निर्माण गरेको सातु उद्योग

­किरण पौड्याल 
माइजोगमाई गाउँपालिकाका जीतेन्द्र अधिकारीलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन। कहिले कता, कहिले कता। न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि। शुरुमा ठेक्कापट्टाको काम गरे। कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च। एउटा सीमित घेरामा बसेर काम गर्न जीतेन्द्रको चित्त बुझेन। 

केही समय युनिटी नामक संस्थामा काम गरे। कमाइ राम्रै थियो। कमाएको रकमले खान पुगेकै थियो। परिवार पालिएकै थिए। श्रीमती लक्ष्मी पनि यनिटी संस्थाकै क्यान्टिनमा काम गर्थे। अकस्मात युनिटी संस्था बन्द भएपछि जीतेन्द्रको परिवारलाई हातमुख जोर्ने समस्या फेरि बल्झियो। जीवनमा अनेक समस्या आए पनि जीतेन्द्रले त्यही समस्याभित्रैबाट उपाय रचे। 

बालबालिकाहरुले विद्यालयहरुमा खाजा लाने वस्तुका बारेमा हरेक परिवारमा चिन्ता हुने गर्दथ्यो। विद्यार्थीले खाजाका नाममा बाबुआमासँग दिनहुँ रकम मागेको देख्थे। जति पैसा दिएपनि उनीहरुको चित्त बुझ्दैन थियो। उनलाई लाग्थ्यो, 'एकातिर पैसाको नाश, अर्कातिर तयारी खाजाले गर्दा स्वास्थ्यमा खराब।' बजारका तयारी खानपानमा बालबच्चा झुम्मिएका देख्दा उनी चिन्तित थिए। यत्तिकैमा उहाँले सोच्नु भयो, विद्यार्थीका लागि केही अर्गानिक खाजा बनाउने। के बनाउने ? कसरी बनाउने ? अनेक प्रश्न उठे।
 
यत्तिकैमा बाल्यकालमा औधी मन पर्ने सातुको सम्झना आयो। गाउँको सातु, त्यो पनि मकैको। उहाँले बालबच्चालाई खाजा पनि हुने, आफूलाई रोजगार पनि। अर्काको अफिसमा काम पनि गर्नु नपर्ने। एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खानाको मोह।

जीतेन्द्रले आफू मात्रैले यो कुरा गर्न चाहनु भएन। माइजू नाता पर्ने सेवी राईलाई पनि यसबारे कुरा राखे। राईले पनि जीतेन्द्रको कुरालाई स्वीकार्नु भयो। जीतेन्द्र र सेवी मिलेर उद्योग खोल्ने निर्णयमा पुगे। उद्योग खोल्ने कुरा सजिलो थिएन। न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा दुबै जना अनभिज्ञ थिए। तैपनि उनीहरु यसैमा डटेर लागे। 

उनीहरुले सातु उद्योग खोले। उद्योगमा मकै मात्र होइन गहुँ, कोदो, चना, भटमास, बदाम, जौ मिश्रित बनाउन थालियो। शुरुमा पाँच लाख रुपैयाँको लगानीमा व्यवसाय शुरु भयो। शुरुआतमा सातुले खासै बजार लिन सकेन। तैपनि हिम्मत हारेनन्, गरिरहे।
 
तीन वर्षअघि उद्योग खोल्दा जीतेन्द्र र सेवीले अनेक भनाइ सुन्नुपर्यो। आधुनिकतामा रमाएको शहरी क्षेत्रमा सातु नौलो थियो। धेरैले प्रयोग गर्न चाहँदैन थिए। फाट्टफुट्ट इलाम बजारमा बिक्न थाल्यो। 

अहिले सुमीले घरायसी कारण उद्योगको काम छाडेपछि जीतेन्द्र आफैँले सबै काम गरिरहेका छन्। खाद्यवस्तु मात्र होइन, जडीबुटीजन्य वस्तु मिसेर सातु बनाइन्छ। जीतेन्द्रको उद्योगमा पाँचथरबाट मकै, तराईबाट गहुँ, इलामको चमैताबाट जौ ल्याएर त्यसलाई पिसी सातु बनाउने गरिन्छ।
 
उद्योगमा एकै किसिमको होइन, फरकफरक तबरको सातु बनाउने गरिन्छ। कुनै कोदोको पिठो मिश्रित, कुनै मधुमेहको बिरामीले खान मिल्ने ‘सुगर फ्री’ सातु। जीतेन्द्र भन्छन्, ‘'स्वास्थ्यवद्र्धक सामग्री मात्र बेच्छु। जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु।’ आडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै माग हुने गरेको उनको भनाइ छ।

अहिले उद्योगमा जीतेन्द्रले अर्का एक जनालाई पनि रोजगारी दिएका छन्। शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि सहयोग गर्छन्। पारिवारिक सहकार्यमै उद्योग चलेको छ। 

उद्योगको काम झन्झटिलो छ तर जीतेन्द्र झन्झटिलो मान्नु हुन्न। परिश्रमले काम गरेर खानुपर्छ भन्ने बुझेका जीतेन्द्र निरन्तर खटेर सातु बनाउछन्।  सबै खाद्यवस्तु मेसिनमा हाल्नु अघि भुट्नु पर्छ। भुट्नका लागि आधुनिक सामग्री छैनन्। पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेष किसिमको टिनबाट बनाइएको सामग्री) प्रयोग गर्नुपर्छ। 

 हुन त जीतेन्द्रले होल्र्याङ्गेको विकल्प नखोज्नुभएको पनि होइन। आधुनिक होल्र्याङ्गे किन्न भारतसम्म पनि पुगे। धेरै मूल्य पर्ने भएकाले अहिले पुरानै तरिकाबाट भुट्नु गरिएको छ। जीतेन्द्र बिहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुटछन्। दिउँसो सातु बनाउछन्। सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेर मात्र बजार पुर्याउन योग्य हुन्छ। 

जीतेन्द्रको बसाइ इलाम नगरपालिका­७ धोवीधारामा छ भने उद्योग नगरपालिका­८ मा रहेको छ। उद्योगबाट मासिक रु २० हजार हाराहारीमा नाफा हुने गरेको उनी बताउछन्। ‘‘मुनाफा धेरै नभएपनि आफैँ मालिक, आफैँ श्रमिक भएर काम गर्दाको आनन्द नै ठूलो छ’’, उहाँ भन्नुहुन्छ । उद्योगका लागि मासिक रु दुई हजार घर भाडा बुझाउनुपर्छ। 

उनको उद्योगबाट ७०० ग्राम र ५०० ग्रामका सातुका प्याकेट उत्पादन गरिएको छ। ७०० ग्रामलाई रु २५० र ५०० ग्रामलाई रु २०० पर्छ।  चिनीरहित सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ। यसमा जीतेन्द्रले विभिन्न जडीबुटी मिसाइएको हुन्छ। 

आधुनिकतामा रमाइरहेको समाजसँग जुध्न त्यति सहज छैन। ग्रामीण भेगमा प्रयोग हुने सातुलाई शहरी क्षेत्रका वासिन्दाले त्यति रुचाउँदैनन्। आधुनिकताका नाममा तयारी खानेकुरामा रमाउने नयाँ पुस्तालाई सातुको महत्व बुझाउन जीतेन्द्र विभिन्न ठाउँमा पुग्ने गर्छन्। 

विस्तारै सदरमुकामलगायत फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ। अहिले उद्योगको बजारसँगै लगानी पनि बढेको छ । झण्डै रु १० लाख लगानी पुगेको उनी बताउछन्। भविष्यमा आफ्नो व्यवसायले विस्तारै बजार पाउनेमा उनी विस्वस्त छन्। रासस 

प्रकाशित मिति: : 2021-05-03 16:52:00

प्रतिकृया दिनुहोस्