५० शय्याको ‘आइसोलेसन सेन्टर’ बनाउँदै ललितपुर महानगर

शनि शाक्य

ललितपुर

कोरोना संक्रमितले अस्पताल भरिन थालेपछि ललितपुर महानगरपालिकाले ‘आइसोलेसन सेन्टर’ संचालन गर्ने भएको छ।

महानगरले चिकित्सक, नर्स, अक्सिजन ‘‘कन्सन्ट्रेट’(अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको ५० शय्याको ‘आइसोलेसन’ सेन्टर बनाउने भएको हो।

महानगरको आइतबार बसेको बैठकले ‘नेपाल युथ फाउन्डेसन’को पोषण पुनर्स्थापना गृहमा ‘आइसोलेसन सेन्टर’ संचालन गर्ने निर्णय गरेको हो।

नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य ‘रिफरल’ अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा ‘आइसोलेसन सेन्टर’ सुरु गर्ने मेयर चिरीबाबु महर्जनले बताएका छन्।

ललितपुर महानगरको सुनाकोठीस्थित उक्त पोषण पुनर्स्थापना केन्द्रमा गतवर्ष महिला तथा बालबालिकाको लागि ‘क्वारेन्टाइन’ संचालन गरिएको थियो।

यसैगरी, महानगरको वडा नं ४ बागडोलस्थित ज्यापू समाजको एक सय १० शैय्याको वृद्धाश्रम पनि ‘आइसोलेसन सेन्टरका’ लागि तयार अवस्थामा रहेको छ। मेयार महर्जनले जानकारी दिएका छन्।

मेयर महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए।

उनले भने, ‘ज्यापू समाजसँग पनि छलफल भइरहेको छ, त्यहाँ अहिले जेष्ठ नागरिक बस्नु भएको छैन, आवश्यक पर्ने बित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ।’ 
उनले महानगरले संचालन गरेका आइसोलेसन सेन्टर उत्कृष्ट हुने दाबी गर्दै कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने बताए।

महानगरले ‘आइसोलेसन सेन्टर’मा मेडिकल कन्सल्ट्यान्ट, दुई जना मेडिकल अफिसरको व्यवस्था गर्ने ललितपुर महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन्। त्यस्तै महानगरले गृहमा रहेका अन्य मेडिकल स्फाटहरुलाई तालिमको व्यवस्था गर्ने जनाएको छ।

नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले यो आइसोलेसन सेन्टरलाई कोभिड पोजेटिभ देखिएका बिरामीलाई अस्पताल जानुपर्ने अवस्था आउनु अघिसम्म र अस्पतालको उपचारपछि पूर्ण रुपमा निको हुनुभन्दा अघिको समयसम्म राख्न सकिने बताएका छन्। 

प्रकाशित मिति: : 2021-05-02 18:54:00

प्रतिकृया दिनुहोस्